मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १४ मंगलबार ०७:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकहरूको खराब कर्जामा गभर्नरको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १४ मंगलबार ०७:२५:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्ना निक्षेपकर्तालाई भरोसा दिलाउने काम गर्न बैंकरहरूलाई आग्रह गरेका छन् । सोमबार वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर छलफल गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २१ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर छलफल गरेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले जानकारी दिए । बैंकहरूको बढ्दो निष्क्रिय कर्जा, कर्जा असुली, वर्तमान अवस्थाबारे छलफल भएको उनले बताए । 

निक्षेपकर्तालाई भरोसा दिलाउने गरी त्यस्ता अफवाहको समयमै उपचार गर्न गभर्नर अधिकारीले आग्रह गरेको केसीले बताए । गभर्नरको खास चासो कर्जा असुली र निष्क्रिय कर्जामाथि रहेको थियो । उनले भने, ‘२१ वटै बैंकका सिइओहरूलाई बोलाएर उहाँ (गभर्नर)ले छलफल गर्नुभयो । सबै बैंकका सिइओले आ–आफ्नो भनाइ राख्नुभयो ।’

केन्द्रीय बैंकको सुपरिवेक्षणका आधारमा बैंकहरू स्वास्थ्य सुधारोन्मुख रहेको गभर्नरको भनाइ थियो । गभर्नरको भनाइ उद्धृत गर्दै एक बैंकरले भने, ‘तपाईंहरूलाई हामीले सुपरिवेक्षण गरिरहेका छौँ । बैंकहरूको स्वास्थ्य राम्रो छ । तर, बाहिर विभिन्न अफवाह फैलिरहेका छन् । त्यसतर्फ ध्यान दिनुहोला ।’ 

बैंकरहरूले सबै बैंक सक्षम रहेको र बजारमा फैलिएजस्तो खराब अवस्था नरहेको स्पष्ट पारेको ती बैंकरले जानकारी दिए । दक्षिण एसियाका अन्य मुलुकहरूको दाँजोमा निष्क्रिय कर्जाको अनुपात सन्तोषजनक रहेको पनि बैंकरहरूको दाबी थियो । 
राष्ट्र बैंकका अनुसार ०७९ माघमा वाणिज्य बैंकहरूको २‍‍.४९ प्रतिशत, विकास बैंकहरूको २.८२ प्रतिशत र फाइनान्स कम्पनीहरूको ७.८२ प्रतिशत खराब कर्जा रहेको छ । जबकि, ०७८ माघमा वाणिज्य बैंकहरूको १.१८ प्रतिशत, विकास बैंकहरूको १.४२ प्रतिशत र फाइनान्स कम्पनीहरूको ७.०५ प्रतिशत खराब कर्जा रहेको थियो ।