१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत १३ सोमबार १६:१४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी अस्पताल कार्यालय प्रमुखविहीन, दुई महिनादेखि कर्मचारीले पाएनन् पारिश्रमिक

जनशक्ति अभावमा डेढ वर्षदेखि आइसियू अलपत्र

Read Time : > 2 मिनेट
२०७९ चैत १३ सोमबार १६:१४:००

गुल्मी अस्पतालका कार्यालय प्रमुख डाक्टर उत्तम पच्या माघमा वीर अस्पताल काठमाडौं सरुवा भए । गुल्मी अस्पतालमा साढे चार वर्ष कार्यालय प्रमुखको रूपमा काम गरेका पच्याको सरुवापछि डाक्टर सोफिया थापाले निमित्तको रूपमा दैनिक प्रशासन सञ्चालन गरिरहेकी छिन् । दुई महिनासम्म लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यालय प्रमुख वा आर्थिक अख्तियारी नदिँदा अस्पतालका डेढ सय कर्मचारीले दुई महिनादेखि पारिश्रमिक पाएका छैनन् ।

मन्त्रालयले समयमै चासो नदिँदा अस्पतालको आर्थिक तथा प्रशासनिक काममा समस्या भएको गुल्मी अस्पतालका लेखा प्रमुख हरिप्रसाद कँडेलले बताए । ‘कर्मचारीको माघ र फागुनको पूरै पारिश्रमिक रोकिएको छ । कार्यालय प्रमुख वा आर्थिक अख्तियारी नहुँदा सबै आर्थिक काम गर्न सकिएको छैन,’ कँडेलले भने, ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा यो अवस्था नहुनुपर्थ्याे ।’ गुल्मी अस्पतालमा स्थायी दरबन्दी, करार, छात्रवृत्ति करार, अस्पताल विकास समिति र कार्यक्रमका गरेर एक सय १५ कर्मचारी छन् ।

गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले प्रदेशदेखि केन्द्रसम्म लिखित तथा मौखिक जानकारी गराए पनि कार्यालय प्रमुख नपठाएको बताए । उनले माथिल्लो निकायबाट कार्यालय प्रमुख नआउने र भएकाहरूले आर्थिक अख्तियारीसहितको जिम्मेवारी लिन नखोजेका कारण समस्या भएको बताए । अहिले डाक्टर सोफिया थापालाई दैनिक प्रशासन सञ्चालन गर्न निमित्त तोकिएको छ । ‘अहिले भएका डाक्टरहरू फाजिलका भएकाले पारिश्रमिकका लागि मात्रै अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँहरू जिम्मेवारीका लागि सकारात्मक देखिनुभएन,’ उनले भने, ‘माथिल्लो निकायले पनि बेवास्ता गरेपछि समस्या देखिएको हो ।’

५७ स्थायी दरबन्दी, १७ कार्यरत
गुल्मी अस्पतालमा ५७ जनाको स्थायी दरबन्दी भए पनि अहिले १७ जना छन् । अन्य फाजिलका जनशक्ति छन् । अस्पतालमा विशेषज्ञ डाक्टरको १० स्थायी दरबन्दी छ । तर, स्थायी दरबन्दीमा विशेषज्ञ डाक्टर छैनन् । स्त्रीरोग विशेषज्ञ डाक्टर सोफिया थापा र बालरोग विशेषज्ञ डाक्टर विपिन खनाल दुवैजना फाजिलमा कार्यरत छन् ।

त्यस्तै, छात्रवृत्ति करारका दुईजना विशेषज्ञ छन् । अस्पतालका चार स्थायी मेडिकल अधिकृत अध्ययन बिदामा छन् । अहिले मेडिकल अधिकृत पदमा छात्रवृत्ति करारका चारजनाले काम गरिरहेको अस्पतालको प्रशासन शाखा प्रमुख असीम चौधरीले जानकारी दिए ।

स्टाफ नर्सको आठ स्थायी दरबन्दी भए पनि दुईजना मात्र छन् । स्थायी एक नर्सिङ अधिकृत हुन् । अत्यधिक सेवाग्राही आउने, पुरानो साँघुरो संरचना र कम जनशक्तिबीच गुणस्तरीय सेवा दिन निकै मुस्किल छ । पछिल्लो समय बिमाले नागरिकको स्वास्थ्य उपचारमा निकै सहयोग छ । तर, भिड बढी हुँदा सेवा पाउन नागरिकलाई सास्ती भएको छ । दैनिक औसत साढे दुईदेखि तीन सय उपचारका लागि अस्पताल आउने गरेका छन् । बिमा कार्यक्रमले पनि बिरामीको चापमा व्यापक वृद्धि भएको छ ।

सुविधा थपेर विशेषज्ञ टिकाउँदै नगर
गुल्मी अस्पतालमा १० जना विशेषज्ञको दरबन्दी खाली छ । जिल्ला अस्पतालहरूमा विशेषज्ञ डाक्टरहरू बस्नै मान्दैनन् । जसका कारण रेसुंगा नगरपालिका विशेषज्ञ टिकाउन सुविधा थप्न बाध्य भएको छ । नगरले गुल्मी अस्पतालमा करार सेवामा कार्यरत डाक्टर प्रदीप सिवाकोटीलाई अस्पतालको सुविधाबराबरको प्रोत्साहन भत्ता दिएर हाडजोर्नी विशेषज्ञ सेवा सुरु गरेको छ ।

नगरको प्रयासले जिल्लामा हाडजोर्नीको विशेषज्ञ सेवा नहुँदा पाल्पा, बुटवल जानुपर्ने बाध्यताको अन्त्य भएको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । नगरले अस्पतालसँग सम्झौता गरेर कार्यक्रम अगाडि बढाएकाले हाडजोर्नीको विशेषज्ञ सेवालाई आवश्यक उपकरण खरिद अन्तिम चरणमा रहेको पन्थीले जानकारी दिए ।

जनशक्ति नहुँदा डेढ वर्षदेखि आइसियू अलपत्र
गुल्मी अस्पतालमा जनशक्ति नहुँदा डेढ वर्षदेखि दुईवटा भेन्टिलेटरसहित पाँच बेडको आइसियू अलपत्र परेको छ । कोभिड– १९ को वेला दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको काम भएको छ । तर, पाइपलाइन विस्तार र जनशक्ति नहुँदा आइसियू अलपत्र भएको हो । डेढ वर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरणसमेत अलपत्र छ ।

यता रेसुंगा नगर कार्यपालिकाको पहिलो बैठकले गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा सुरु गर्ने निर्णय गरेको छ । डायलाइसिस मेसिन खरिद गरेर गुल्मी अस्पतालबाट सेवा दिने नगर कार्यपालिकाको निर्णयले केही उत्साहित बनाएको छ । तर, उपकरण आफैँ सञ्चालन हुँदैन । जनशक्ति नहुँदा उक्त निर्णय कार्यान्वयन हुनेमा सेवाग्राही विश्वस्त हुन भने सकेका छैनन् । अहिले भएका जनशक्तिले अस्पताल आउने नियमित बिरामी हेरेरै सक्दैनन् ।

पहाडमा डाक्टर टिकाउनै मुस्किल
पहाडका जिल्ला अस्पतालहरूमा डाक्टर बस्नै मान्दैनन् । खर्चअनुसार सेवा सुविधा नहुँदा डाक्टरले सुगम खोज्ने गरेको गुल्मी अस्पतालको निमित्त प्रमुख डाक्टर सोफिया थापाले बताइन् ।

डाक्टर मात्रै नभएर सामान्य नागरिकले पनि सहर खोजिरहेका वेला डाक्टरले सुविधा र परिवार खोज्नु स्वाभाविक भएको उनी बताउँछिन् । ‘लाखौँ खर्च गरेर अध्ययन गरेको डाक्टर अहिलेको सरकारी सुविधामा पहाडमा बस्न मुस्किल पर्छ । त्यसैले परिवार वा थप सुविधाका लागि मुख्य सहरकेन्द्रित भएको पाइन्छ,’ उनले भनिन्, ‘संघीयताका कारण पनि विशेषज्ञ डाक्टर केन्द्रकै अस्पतालमा छन् ।’

एकै व्यक्तिले प्रशासन र ओपिडी हेर्न समस्या हुने भएकाले सकेसम्म प्रशासनिक व्यक्ति नै कार्यालय प्रमुख हुँदा राम्रो हुने थापाले बताइन् ।