
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा वेदर स्टेसन स्थापना गरिएको छ।
यो वेदर स्टेसनमार्फत मौसमसम्बन्धी सैद्धान्तिक अध्ययन गर्दै आएका विद्यार्थीलाई व्यावहारिक ज्ञान उपलब्ध गराउन सहज हुने गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए।
उदय माविमा कृषिसम्बन्धी प्राविधिक विषय अध्यापन हुने गरेको छ। स्टेसनले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू र कृषकलाई वर्षभरको सापेक्षित आर्दता, हावाको मात्रा, तापक्रम र वर्षाको तथ्यांक उपलब्ध हुनेछ।
कुन समयमा कुन बाली लगाउन उपयुक्त हुने र कस्तो बाली लगाउँदा राम्रो उत्पादन गर्न सकिन्छ भनेर कृषि विशेषज्ञ र प्राविधिकले समेत वेदर स्टेसनको तथ्यांक अध्ययन गर्न तथा योजना निर्माण गर्न सजिलो हुने विश्वास लिइएको केसीले बताए।
चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरमा सञ्चालित रुरु जलविद्युत् परियोजनाको प्राविधिक र आर्थिक सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा स्थापित वेदर स्टेसन स्थापना गरिएको हो। वेदर स्टेसन विद्यालयमा स्थापना भएको सम्भवतः उदय मावि नेपालमै पहिलो भएको रुरु जलविद्युत् परियोजनाका म्यानेजर विष्णुप्रसाद ज्ञवालीले दाबी गरे।
यन्त्रले वातावरणीय परिवर्तनले हुने प्रभावबारे जानकारी दिने हुँदा वातावरणीय प्रभाव न्यूनीकरणका कार्यक्रम गर्न सजिलो हुनेछ।