मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २३ मंगलबार
  • Tuesday, 06 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १३ सोमबार ०८:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन साउनभित्रै निर्माण सम्पन्न गर्न ताकेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १३ सोमबार ०८:०५:००

नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण समयमै सम्पन्न गर्न ताकेता गरेको छ ।

 प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालय उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले शनिबार स्थलगत अनुगमन भ्रमण गरी प्रसारण लाइन र सबस्टेसन निर्माण प्रगतिबारे छलफल गरेको छ । सोही क्रममा प्राधिकरणको उक्त टोलीले आगामी साउनभित्र नै प्रसारण लाइनको निर्माण सम्पन्न गर्न ठेकदार कम्पनीलाई निर्देशन दिएको हो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन् –यो आयोजना सम्पन्न भएमा मध्य–भोटेकोसीको विद्युत् सीधै जोड्न सकिने विकल्प देखिएको छ, त्यसैले आगामी साउनभित्र निर्माण सम्पन्न गरी काम गरौँ ।
 

टोलीले प्रसारण लाइन निर्माणमा रूख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री तथा उपकरणहरूको आपूर्ति, स्थानीयको अवरोध, निर्माण सम्पन्न हुने तालिकालगायत विषयमा विस्तृत रूपमा छलफल गरेको थियो । त्यसपछि टोलीले नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन र सबस्टेसनको काम आगामी साउनभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माणमा संलग्न व्यवसायीहरूलाई निर्देशन दिएको छ । 

‘यो आयोजना सम्पन्न भएमा मध्य–भोटेकोसीको विद्युत् सीधै जोड्न सकिने विकल्प देखिएको छ, निर्माण छिटो सम्पन्न गर्न आयोजनाको दातृ निकायबाट पनि बारम्बार ताकेता आइरहेको छ, वर्षायाम सुरु हुनुभन्दा अघि नै जनशक्ति तथा उपकरणहरू थप गरी निर्माणमा तीव्रता दिनुहोस्, स्थानीय समस्या समाधान गरी आगामी साउनभित्र निर्माण सम्पन्न गरी काम गरौँ,’ घिसिङले बताए । भारतीय कम्पनी केइसी इन्टरनेसनलले यो प्रसारण लाइन निर्माण गरिरहेको छ । उक्त प्रसारण लाइन नबनेमा चिलिमे जलविद्युत् कम्पनीले सिन्धुपाल्चोकमा बनाइरहेको एक सय दुई मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् खेर जाने सम्भावना छ ।