
टी–२० क्रिकेट इतिहासमा सबैभन्दा ठूलो रनको लक्ष्य कुशलतापूर्वक पछ्याउँदै दक्षिण अफ्रिकाले कीर्तिमान जित हासिल गरेको छ ।
वेष्ट इन्डिजविरुद्ध सेन्चुरियनमा आज भएको खेलमा दुई सय ५९ रनको लक्ष्य पूरा गरेर दक्षिण अफ्रिकाले कीर्तिमान जित हासिल गरेको हो । दक्षिण अफ्रिकाको जितमा क्विन्टन डि ककको विस्फोटक शतक र रेजा हेन्ड्रिक्सको अर्धशतकको महत्वपूर्ण योगदान रह्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले जोहनसन चार्ल्सको शतकमा मद्यतमा वेष्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २५८ रन बनाएको थियो । ४६ बल खेलेका चार्ल्सले विस्फोटक ब्याटिङ गर्दै ११ छक्का र १० चौकाको मद्यतमा एक सय १८ रन बनाएका थिए ।
तर, दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा ७ बल बाँकी रहँदै ६ विकेटको जित हासिल गर्यो । जितपछि दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।
दक्षिण अफ्रिकाका ओपनरद्वय डि कक र रेजाले पहिलो विकेटका लागि १०.५ ओभरम एक सय ५२ रनको साझेदारी गरेका थिए । डि ककले ४४ बल खेल्दै ८ छक्का र ९ चौका प्रहार गर्दै एक सय रन बनाए । टी–२० मा यो उनको पहिलो शतक हो ।
रेजाले २८ बलमा दुई छक्का र ११ चौकाको सहयोगमा ६८ रन जोडे । कप्तान एइडन मारक्रमले २१ बलमा अविजित ३८ रन तथा हेनरिच क्लासेनले ७ बलमा अविजित १६ रन बनाए ।