१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७९ चैत १२ आइतबार २२:३७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

जितपुर-सिमरा गोल्डकप

Read Time : > 1 मिनेट
२०७९ चैत १२ आइतबार २२:३७:००

डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३औँ जगदम्बा जितपुर–सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

‘बी’ डिभिजन क्लब वीरगन्ज युनाइटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि एक मात्र निर्णायक गोल अशोक थापाले गरे । खेलको २९औँ मिनेटमा कृतिशरत्न चुन्जुले डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।

घरेलु दर्शकको समर्थन पाएको वीरगन्ज युनाइटेडले खेलमा केही आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । खेलको ४८औँ मिनेटमा विवेक चौधरी वन भर्सेस वनको स्थितिमा चुक्न पुगे । विवेकको प्रहार गोलपोस्टनजिकबाट बाहिरियो ।

पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटीविरुद्ध वीरगन्जले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्‍याे । दोस्रो हाफको सुरुबाटै एनआरटीविरुद्ध आक्रामक खेल खेले पनि वीरगन्जले स्कोर बनाउन सकेन ।

खेलको ५४औँ मिनटमा वीरगन्जले एनआरटीविरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो । वन भर्सेस वनको स्थितिमा वीरगन्जका कृपा गोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोलरक्षक पुजन होनाले सहज बचाउ गरे । 

खेलको ७४औँ मिनटमा वीरगन्जले अर्को आकर्षक अवसर गुमाएको थियो । नीरज थापामगरको क्रसबलमा सागर चौधरीको हेडर बल क्रसबारमा ठोक्किएर बाहिरिन पुग्यो । 

अन्तिम समयमा आक्रामक खेल खेलेको वीरगन्जले ८४औँ मिनेटमा अर्को अवसर गुमायो । नीरज थापामगरको क्रसपासमा कृपा चौधरीको हेडर बल एनआरटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा वीरगन्जले अर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपरसमेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोलपोस्ट नजिकबाट बाहिरियो ।

प्रतिस्पर्धात्मक खेलमा एनआरटीले पनि केही आकर्षक अवसर गुमाएको थियो, जसकारण वीरगन्जविरुद्ध जित निकाल्न अन्तिम समयसम्म कडा संघर्ष गर्नुपरेको थियो । खेलको सातौँ मिनेटमा कृतिरत्न चुन्जुको क्रसपासमा अशोक थापाको प्रहार गोलपोस्टनजिकबाट बाहिरिएको थियो । 

खेलको ६४औँ मिनटमा अशोक थापाले किपरसमेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार वीरगन्जका डिफेन्डरले गोललाइनबाट क्लिएर गरेका थिए ।

एनआरटीलाई अन्तिम चारमा पुर्‍याउन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगदसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताअन्तर्गत सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।