
संघमा गठबन्धन फेरिनासाथ प्रदेशमा पनि सोही आधारमा गठबन्धन फेरिनैपर्ने हो ?
संघमा गठबन्धन फेरिनासाथ प्रदेशमा पनि गठबन्धन फेरिनैपर्ने जरुरी छैन । तर, संघदेखि प्रदेशसम्म तिनै दलहरूको दबदबा भएको हाम्रो जस्तो देशमा यसैका कारण संघीयता नै कमजोर हुन सक्ने खतरा देखिन्छ । क्षेत्रीय पाटीहरू सशक्त रूपमा अस्तित्वमा नआउन्जेल संघीयता या प्रदेश संरचनाहरू बलिया हुन सक्दैनन् । संघमा जुन दल छ, प्रदेशमा पनि त्यही दल अस्तित्वमा भएपछि दलहरूको नेतृत्वले जे भन्छन्, तलकाले त्यही निर्देशनलाई तत्काल पालना गर्छन् । यसले संघीयतालाई कमजोर बनाउँछ ।
हाम्रा प्रदेश संरचनाहरू आफैँ कमजोर बनेका हुन् कि तिनलाई संघले कमजोर बनाएको हो ?
संविधान बनाउँदै गर्दा नै हाम्रा राजनीतिक नेतृत्वले प्रदेशलाई निकै कमजोर बनाए । संविधानले प्रदेशलाई दिएका सीमित अधिकार कार्यान्वयन गराउने क्रममा पनि संघले आलटाल गर्दै आएको छ । संविधानअनुसार बनाउनुपर्ने थुप्रै कानुन संघले अझै बनाइदिएको छैन । जसले गर्दा प्रदेशहरू अधिकांश निर्णयमा संघको मुख ताक्नुपर्ने बाध्यतामा छन् । त्यसैले, उनीहरू आफैँ कमजोर बनेका नभई संघले जानाजान कमजोर बनाइदिएको हो ।
प्रदेश संरचनालाई कतिपय विषयमा निर्णय लिने सवालमा स्वायत्त बनाउन सकिन्न ?
नसक्ने त कुरै हुँदैन । संघले प्रदेशलाई आवश्यक सम्पूर्ण कानुनहरू बनाइदिएर सहजीकरण गरिदिनुपर्छ । साथै, दलहरूले पनि कतिपय विषयमा निर्णय लिन आफ्ना प्रदेश कमिटीहरूलाई स्वायत्तता दिनुपर्छ, हस्तक्षेप गर्नु हुँदैन ।