मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ चैत १२ आइतबार ०६:१६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीले तयार गरे मन्त्रालय बाँडफाँटको प्रस्ताव

मन्त्रालयको रोजाइका आधारमा अंकमा सामान्य हेरफेर हुनेछ । गठबन्धनमा सबै दलले बढी संख्या दाबी गरेका छन् ।

Read Time : > 1 मिनेट
२०७९ चैत १२ आइतबार ०६:१६:००

शनिबार पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्रीले भने– सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको संख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारेका छन् । शनिबारसम्म जनमतबाहेक गठबन्धनका अन्य दलसँग परामर्श सकिएको र आइतबारसम्म सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने योजना रहेको प्रधानमन्त्रीको भनाइ छ । 

शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार गठबन्धनको बैठक राख्ने तयारी भएको र त्यहाँ प्रारम्भिक प्रस्ताव पेस हुने बताए । उनले गठबन्धन दलहरूसँग छुट्टाछुट्टै छलफल गरिएको र त्यसैका आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव तयार गर्ने बताएका छन् ।

‘जनमतबाहेक अरू दलसँग कुराकानी भइसकेको छ । सकेसम्म आइतबार नै गठबन्धनको बैठकमा बाँडफाँट टुंग्याएर सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने योजना छ,’ पार्टी बैठकमा प्रधानमन्त्री प्रचण्डको भनाइ थियो, ‘गठबन्धनमा समझदारी बनाउने प्रयास भइरहेको छ । गृह वा अर्थमध्ये एक मन्त्रालय माओवादीको थपिन्छ होला ।’ 

माओवादी सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने गरी प्रधानमन्त्रीले तयारी गरेको बताए । ‘गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले अलग–अलग छलफल गर्नुभएको छ । अब गठबन्धन दलहरूको बैठक बोलाएर उहाँले मन्त्रिपरिषद् विस्तारको प्रस्ताव गर्नुहुन्छ,’ बैठकपछि पौडेलले भने । 

गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र सांसदमध्येबाट एकजनालाई मन्त्री बनाउने प्रस्ताव बनाएका छन् । मन्त्रालयको रोजाइका आधारमा अंकमा सामान्य हेरफेर हुनेछ । गठबन्धनमा सबै दलले बढी संख्या दाबी गरेका छन् । 

प्रधानमन्त्रीपछि मन्त्रालय विस्तारमा पहिलो रोजाइ कांग्रेसको हुनेछ । सबैको चिक्त बुझाएर शक्तिशाली मन्त्रालय बाँडफाँट गर्ने प्रधानमन्त्रीको योजना छ । प्रधानमन्त्रीले आफूले ल्याएको प्रस्ताव नै अन्तिम रूप दिने गरी गृहकार्य गरिरहेका छन् । 

माओवादी मन्त्री रहेको मन्त्रालयको हेरफेर गर्ने र कसलाई कुन मन्त्रालय दिने टुंगो लगाउने गरी शीर्ष तहमा छलफल भइरहेको छ । कांग्रेसले अर्थ मन्त्रालय र माओवादीले गृह मन्त्रालय लिने तथा मन्त्रालय हेरफेर गर्ने गरी छलफल भइरहेको छ । 

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल प्रधानमन्त्रीले दलहरूसँग निरन्तर छलफल गरिरहेको बताउँछन् । ‘प्रधानमन्त्रीले छलफल गरिरहनुभएको छ । धेरै दल भएकाले सबैको चित्त बुझाउनुपर्ने अवस्थाले गर्दा केही समय लागेको हो । प्रधानमन्त्रीबाट ठोस प्रस्ताव आएको छैन, उहाँको प्रस्ताव नआई गठबन्धनमा छलफल हुने अवस्था छैन,’ उनले भने । 

अर्कोतर्फ सबै दल आन्तरिक छलफलमा जुटेका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले निवासमै पदाधिकारी बैठक बसालेका थिए । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा सभापति देउवाले पदाधिकारीलाई सरकार विस्तारमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । 

त्यसैबीच एकीकृत समाजवादीले उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकार जाने तयारी गरेको छ । घनश्याम भुसाललाई महासचिव बनाउने वेलामै डा. भुसाललाई पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेर पठाउने वचन दिइएको स्रोतको दाबी छ । अर्का उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि सरकारमा जाने आकांक्षा राखेका छन् । 

अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदललाई गठबन्धनमा मन्त्रालय दाबी गर्ने र मन्त्री छान्ने जिम्मा दिएको छ । एकीकृत समाजवादीले तीन मन्त्रालय दाबी गरेको छ । एकीकृत समाजवादीमा पाण्डे र भुसालसहित प्रकाश ज्वाला, भानुभक्त जोशी र धनबहादुर बुढाको नाम चर्चामा छ ।