
केन्द्रीय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार लमजुङको जनसंख्या घटेको पाइएको छ। वि.सं २०६८ को जनगणनाअनुसार एक लाख ६७ हजार ७२४ रहेको लमजुङको जनसंख्या १० वर्षमा एक लाख ५५ हजार ८५२ मा झरेको छ।
जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर माइनस ०.७० प्रतिशत रहेको छ। १० वर्षमा लमजुङको जनसंख्या ११ हजार ८७२ ले कम देखिएको हो। जिल्लाको कुल जनसंख्यामा महिलाको संख्या सात हजार ७२८ ले बढी छ। तथ्यांकअनुसार महिलाको संख्या ८१ हजार ७७५ र पुरुषको संख्या ७४ हजार ७७ रहेको छ।
पालिकागत रूपमा हेर्दा सबैभन्दा बढी जनसंख्या बेँसीसहर नगरपालिकामा र सबैभन्दा कम जनसंख्या क्व्होंलासोथार गाउँपालिकामा रहेको छ। बेँसीसहरको जनसंख्या ३८ हजार २ सय ३२ छ भने क्व्होंलासोथारको ७ हजार ९६० रहेको तथ्यांकमा उल्लेख छ।
जिल्लाको जनघनत्व ९२ जना प्रति वर्गकिलोमिटर रहेको छ। सबैभन्दा बढी जनघनत्व सुन्दरबजार नगरपालिकामा ३७५ र कम जनघनत्व मर्स्याङ्दी गाउँपालिकामा २९ रहेको छ। लमजुङमा जनगणनाको समयमा संस्थागत जनसंख्या १ हजार ५ सय २२ रहेको तथ्यांकमा उल्लेख गरिएको छ। संस्थागत जनसंख्या भन्नाले सेना, प्रहरी, होस्टेल, आश्रममा बसोबास गर्ने वा अन्य संस्थागत रूपमा बसोबास गरेको जनसंख्यालाई बुझिन्छ।
तथ्यांकअनुसार जिल्लाको साक्षरता दर ७०.२३ रहेको छ। जसमध्ये पुरुषको साक्षरता दर ८५.६४ र महिलाको साक्षरता दर ७७.४९ छ। सबैभन्दा बढी साक्षरता दर सुन्दरबजार नगरपालिकामा ८१.४० प्रतिशत र कम साक्षरता दर क्व्होंलासोथार गाउँपालिकामा ६७.६५ रहेको छ।
लमजुङमा जम्मा परिवार संख्या ४४ हजार १ सय ७० रहेको छ। यसअघि वि.सं २०६८ को तथ्यांकले यो संख्या ४२ हजार ७९ देखाएको थियो। तथ्यांकअनुसार जिल्लामा परिवारको औसत आकार ३.५३ जना रहेको छ। यस तथ्यांकले जिल्लामा संयुक्त परिवारभन्दा एकल परिवार संख्या बढी भएको देखिन्छ। लैंगिक अनुपात भने ९०.५९ रहेको छ।