१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ११ शनिबार ०८:५६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीले पूरा गरे करिअरकै आठ सय गोल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ११ शनिबार ०८:५६:००

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोपछि करिअरकै आठ सय गोल गर्ने अर्जेन्टिनी विश्व च्याम्पियन खेलाडी मेसी दोस्रो खेलाडी बने

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले शुक्रबार बिहान एउटा रेकर्ड बनाएका छन् । उनले आफ्नो खेल जीवनकै आठ सय गोल पूरा गरेका छन् । घरेलु मैदानमा पानामाविरुद्धको खेलमा अर्जेन्टिनाले २–० ले हराउँदा कप्तान मेसीले गोल गरेका थिए । ब्युनस आयर्समा मेसीले उत्कृष्ट फ्रिकिक गोल गरेका हुन् । फुटबल इतिहासमा आठ सय गोल गर्ने उनी दोस्रा फुटबलर हुन् । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यो उपलब्धि हात पारेका थिए ।

मेसीले आफ्नो फुटबल करिअरमा स्पेनिस क्लब बार्सिलोनामा लगातार १७ सिजन बिताएका थिए । दुई वर्षअघि मात्र उनी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध भए । बार्सिलोनामा रहँदा मेसीले ६ सय ७२ गोल गरेका थिए । पिएसजीमा दुई सिजनभित्र उनले २९ गोल संख्या पुर्‍याएका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनको नाममा ९९ गोल संख्या रहेको छ । खेलको ८९औँ मिनेटमा डे नुनेज रंगशालामा मेसीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए । 

यसअघि खेलको ११औँ मिनेटमा थिआगो अल्माडाले अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । मेसीसमक्ष अन्तर्राष्ट्रिय फुटबलमा सय गोल गर्ने अवसर छ । मंगलबार अर्जेन्टिनाले अर्को खेल खेल्दै छ । गत पुसमा कतारमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो । विश्वकपपछि अर्जेन्टिनाले पहिलोपटक खेल खेलेको हो । 

कीर्तिमान रच्ने सपना
८३ हजार समर्थकमाझ भ्रमणकारी टोली पानामाले अर्जेन्टिनालाई पहिलो हाफमा रोक्न सफल भएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाको अग्रपंक्ति बलियो देखियो । खेलपछि मेसीले जीवनभरि नै फुटबलमा कीर्तिमान राख्ने सपना भएको बताए । ‘मेरो सधैँ यस्तो सपना थियो । ट्रफीसाथ समर्थकसँग खुसीयाली मनाउने हो,’ मेसीले भने, ‘कोपा अमेरिका र विश्वकप जित्दा यस्तै भयो । सबै उत्कृष्ट सोचाइ यही थियो ।’ पहिलो हाफमा अर्जेन्टिनाले पानामाविरुद्ध ७३ प्रतिशत बल आफ्नो पकड राखेको थियो । मेसीका केही आकर्षक गोल प्रयासलाई पानामाका गोलरक्षक जस कार्लाेस गुइराले बचाएका थिए । पानामाविरुद्ध स्कोलानीले विश्वकप फाइनलमा फ्रान्सविरुद्ध खेलेकै ‘प्लेइङ सेट’ मैदानमा उतारेका थिए । 

चार च्याम्पियन्स लिग विजेता 
बार्सिलोनामा रहँदा मेसीको जादुमयी खेलबाट फुटबल समर्थक दंग पर्थे । बार्सिलोनाकै सर्वकालीन महान् खेलाडी र गोलकर्ता बनेका मेसी पिएसजीसँग अनुबन्ध हुँदा समर्थक निराश बनेका थिए । उनले बार्सिलोनाबाट युरोपका सबैजसो उपाधि जित्न सफल भए । मेसीले युरोपकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग चारपटक जितेका छन् ।

यसैगरी, स्पेनिस ला लिगाको उपाधि मेसीले १० पटक हात पारे । कीर्तिमानी रूपमा बालोन डिओर उपाधि जितेका मेसीको चाहना नै पिएसजीबाट च्याम्पियनस लिग जित्नु हो । १३ वर्षकै उमेरमा बार्सिलोनासँग आबद्ध हँुदा उनले ३५ उपाधि चुमे । उनले बार्सिलोनामा एक सय ९२ असिस्टको कीर्तिमान राखेका थिए । सन् २०११÷१२ को सिजनमा उनले बार्सिलोनाका लागि ३७ खेलमा ५० गोलको रेकर्ड राखे ।