१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
बाराको जितपुर–सिमरा उपमहानगरपालिका–८ मा सञ्चालनमा रहेको नेपोभिट टायल उद्योग
नवीन अर्याल काठमाडाैं
Invalid date format o७:o९:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेरामिक्स टायल उद्योगमा १३ अर्ब लगानी

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:o९:oo

आर्थिक मन्दीले निराशा छाइरहेका वेला देशका विभिन्न स्थानमा करिब १३ अर्ब लगानीमा आधा दर्जन सेरामिक्स उद्योग सञ्चालनमा आउँदै

आर्थिक मन्दीले निराशा छाइरहेका वेलामा स्वदेशमै सेरामिक्स टायल उत्पादन गर्न ठूलो लगानी हुन लागेको छ । देशका विभिन्न स्थानमा करिब १३ अर्ब लगानीमा आधा दर्जन सेरामिक्स टायल उद्योगहरू सञ्चालनमा आउने भएका छन् । गत वैशाख ०७९ मा नेपाल सेरामिक्स इन्डस्ट्रिजले बाराको जितपुर–सिमरा उपमहानगर–८ मा नेपोभिट ब्रान्डमा टायल उत्पादन सुरु गरिसकेको छ । टायल र हार्डवेयर व्यापारी मनोज रौनियार र शम्भुनाथ झाले स्वदेशी माटो प्रयोग गरेर स्वदेशमै टायल उत्पादन सुरु गरेका हुन् । डेढ अर्ब रुपैयाँ लगानी भएको उद्योग साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ ।

त्यस्तै, सन् २०२३ भित्र ६ अर्ब रुपैयाँ लगानीमा दुईवटा सेरामिक्स टायल उद्योग सञ्चालनमा आउँदै छन् । मुरारका ग्रुपले भारतको सोमानी सेरामिक्ससँगको सझोदारीमा रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा उद्योग लगाइरहेको छ । १३ बिघा क्षेत्रफलमा निर्माण भइरहेको टायल उद्योगमा दुई अर्ब लगानी हुने मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारकाले जानकारी दिए । ‘हामीले २०२३ भित्रै उत्पादन बजारमा ल्याउने गरी प्लान्ट लगाउने काम गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेको संकटमा उद्योगमा लगानी गरेर स्वदेशी तथा विदेशी लगानीकर्तामाझ सकारात्मक वातावरण बनाउन खोजेका हौँ ।’ 

यस्तै, रमेश कर्प र कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा भैरहवामा ‘कजरिया रमेश टायल्स’ उद्योग खुल्दै छ । सन् २०२३ भित्रै उत्पादन थाल्ने लक्ष्यसहित उद्योगको पूर्वाधार निर्माण भइरहेको छ । चार अर्ब लगानी हुने उद्योगमा रमेश कर्प र कजरियाको ५०–५० प्रतिशत लगानी (हिस्सा) रहनेछ । भैरहवामा १० बिघा जग्गामा उद्योगको प्लान्ट निर्माण भइरहेको रमेश कर्पले जनाएको छ । 

नेपाल सेरामिक्स इन्डस्ट्रिजले उत्पादन बजारमा ल्याइसकेको छ । रौतहटमा टायल उत्पादन गर्न ७० करोड २९ लाख लगानीको प्राइम सेरामिक्स उद्योग दर्ता भएको छ । पूर्णतया स्वदेशी लगानी रहने यस उद्योगको वार्षिक उत्पादन क्षमता दुई करोड ८० लाख पिस हुनेछ । बर्दियाको गुलरिया नगरपालिकामा करिब चार अर्ब लगानीमा लुम्बिनी सेरामिक्स उद्योग खुल्ने भएको छ । उद्योग सञ्चालनका लागि उपयुक्त जग्गा खोजी भइरहेको सञ्चालकले बताए । यस उद्योगले पनि वार्षिक दुई करोड ८० लाख पिस टायल उत्पादन गर्ने प्रस्ताव गरेको विभागले जनाएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकामा मेक्सो टायल्स उद्योग सञ्चालनमा आउने भएको छ । ६६ करोड ७९ लाख रुपैयाँ लगानी गरेर टायल उद्योग सञ्चालनमा ल्याउने विभागमा प्रस्ताव गरिएको छ । यस उद्योगले फ्लोर टायल्स एक करोड ६० लाख पिस र वाल टायल्स एक करोड २५ लाख पिस उत्पादन गर्ने जनाएको छ । उद्योग विभागका अनुसार बारामा सञ्चालनमा आइसकेको नेपाल सेरामिक्स उद्योगको वार्षिक उत्पादन क्षमता दुई करोड ८३ लाख स्क्वायर फिट टायल्स रहेको छ । 

स्वदेशमै ठूलो बजार
नेपालमा भारत, इटालीसहित विभिन्न देशबाट विभिन्न प्रकारको टायल आयात गरिँदै आइरहेको छ । अहिले ९५ प्रतिशतसम्म टायल आयात हुँदै आएको मुरारका समूहका प्रबन्ध निर्देशक मुरारकाले बताए । बारामा सञ्चालित उद्योगले कुल मागको १० प्रतिशत हिस्सा समेट्ने उनको भनाइ छ । उद्योगले मासिक २० करोड हाराहारीका साढे तीन सय डिजाइनका टायल उत्पादन गरेर बिक्री गर्दै आएको छ ।    

मुरारका ग्रुपले पहिलो चरणमा वार्षिक तीस लाख स्क्वायर मिटर टायल उत्पादन गर्ने लक्ष्य राखेको छ । दोस्रो चरणमा अर्को प्लान्ट पनि स्थापना गरेर अर्को ३० लाख स्क्वायर मिटर टायल उत्पादन गर्ने मुरारकाले बताए । ‘नेपालमा वार्षिक एक करोड ८० लाख स्क्वायर मिटर टायलको माग छ,’ उनले भने, ‘हामीले वार्षिक ६० लाख स्क्वायर मिटर टायल उत्पादन गरेर कुल मागको ३३ प्रतिशत हिस्सा समेट्ने लक्ष्य लिएका छौँ ।’ 

रमेश कजरिया उद्योगले वार्षिक आठ लाख वर्गमिटर टायल्स उत्पादन गर्ने प्लान्ट लगाइरहेको छ । यो उद्योगबाट सेरामिक्स र भिट्रिफाइड टायल्स उत्पादन हुने बताइएको छ । उद्योग विभागमा दर्ता भएका सबै उद्योग सञ्चालनमा आउँदा नेपाल सेरामिक्स टायलमा करिब आत्मनिर्भर बन्ने देखिन्छ । यसै वर्षभित्र सञ्चालनमा आउने दुईवटा उद्योगले नै कुल मागको ठूलो हिस्सा स्वदेशमै परिपूर्ति गर्नेछन् । ‘स्वदेशमै टायल उत्पादन गरेर आयात घटाउँदै लैजाने लक्ष्य लिएका छौँ, जसले बढ्दो व्यापार घाटा कम गर्न केही सहयोग पक्कै पुर्‍याउनेछ,’ मुरारकाले भने । 

स्वदेशी कच्चा पदार्थ
सेरामिक्स टायलमा प्रयोग गरिने प्रमुख कच्चा पदार्थ माटो हो । नेपोभिट टायलमा ५० प्रतिशतभन्दा बढी माटो स्वदेशकै प्रयोग गरिएको उद्योगको दाबी छ । यस्तै, मुरारका र सोमानीको संयुक्त लगानीमा खुल्ने उद्योगमा पनि स्वदेशी कच्चा पदार्थको प्रयोगलाई प्राथमिकता दिइने बताइएको छ । ‘टायल उत्पादनका लागि चाहिने ४० प्रतिशत स्वदेशमै भेटिएको छ, भविष्यमा शतप्रतिशत कच्चा पदार्थ नै स्वदेशी प्रयोग गर्ने हो,’ मुरारकाले भने । 

नेपोभिट टायलमा पनि शतप्रतिशत कच्चा पदार्थ स्वदेशी प्रयोग गर्ने लक्ष्य राखिएको छ । यस्तै, रमेश कजरिया उद्योगले पनि स्वदेशी कच्चा पदार्थलाई प्राथमिकता दिने घोषणा गरेको छ । अहिले विभिन्न जिल्लाको माटो परीक्षण गर्ने काम भइरहेको लगानीकर्ताले बताएका छन् ।

स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टायल उत्पादन गरिने हुँदा उद्योगको तुलनात्मक लाभ धेरै हुनेछ । सिमेन्ट उद्योगमा पनि ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थ स्वदेशी प्रयोग हुने हुँदा तुलनात्मक लाभ धेरै छ । विदेशबाट कच्चा पदार्थ ल्याएर भ्यालु एड गर्ने उद्योगहरूले भन्दा स्वदेशकै कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगहरूको अर्थतन्त्रमा योगदान बढी हुने गर्छ । सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ । 

‘अहिले सिमेन्ट निर्यात सुरु भइसक्यो, भारतमा क्लिंकरको माग बढ्दै गइरहेको छ,’ मुरारकाले भने, ‘भोलिका दिनमा टायल पनि निर्यात गर्न सकिन्छ ।’ घर–भवन फिनिसिङको आधुनिक निर्माण सामग्री टायल सहरमा मात्र होइन, गाउँघरमा पनि प्रयोग हुन थालेको छ । स्वदेशमै उत्पादन गरिएको टायल करिब २०–२५ प्रतिशत सस्तो पर्ने व्यवसायीको भनाइ छ ।