१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १० शुक्रबार ११:४५:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

माइग्रेन किन हुन्छ ? यसरी गर्ने उपचार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १० शुक्रबार ११:४५:००

टाउको दुख्ने समस्या अहिले विभिन्न उमेरसमूहमा बढ्दै गएको देखिन्छ । यसका धेरै कारण हुन्छन् । जसमध्ये मानसिक तनावजन्य कारण र माइग्रेन मुख्य हुन् । माइग्रेनको असर व्यक्तिपिच्छे फरक हुने गरेको छ । यो रोग विशेष गरी किशोरावस्था र वयस्क (५० वर्षमुनिका) अर्थात् सक्रिय उमेरका मानिसमा धेरै देखिने गरेको पाइन्छ । माइग्रेनका विभिन्न स्वरूप र प्रकार छन् । 

क्लासिकल माइग्रेन 
यसमा टाउको दुख्नुअगाडि औरा देखिने गर्छ । औरा देखिँदा बिरामीका आँखा धमिलो हुने, कान कराउने, अनुहार अनौठो गरी झमझमाउनेलगायत पूर्वसंकेत देखिन्छन् । यस्तो देखिएको १५ मिनेटदेखि आधा घन्टाभित्रमा टाउको दुख्न सुरु हुन्छ । त्यसपछि पाँच मिनेटदेखि एक घन्टासम्म अत्यधिक टाउको दुखेको महसुस हुन्छ । प्रायः टाउकोको एक भाग मात्रै दुख्ने हुन्छ । प्रायः मानिसमा ब्लिक–ब्लिक गरेर दुख्ने, टाउको फुट्लाजस्तो हुने गर्छ । आँखाले उज्यालोे हेर्न नसक्ने, वरपर बोलेका आवाजले चिडचिडाहट हुने, समान्य टाउको दुखाइका औषधिले कामै नगर्ने वा बान्ता हुने पनि हुन्छ । केही घन्टा दुखेपछि यो स्वतः ठीक हुन्छ । तर, केही दिनदेखि केही महिनामा पुनः सोही रूपमा समस्या देखिन्छ । यो आमरूपमा देखिने समस्या हो । मानिसलाई यसबाहेक अन्य प्रकारका माइग्रेन पनि हुन सक्छन् र यसको असर व्यक्तिपिच्छे फरक हुन्छ । चिकित्सकले लक्षण हेरेर यसको निक्र्योल गर्न सक्छन् । 

रोकथाम तथा उपचार 
माइग्रेनको उपचारका क्रममा विभिन्न कुरा विचार गर्नुपर्ने हुन्छ । माइग्रेन कति अवधिको हो, कति अन्तरालमा हुन्छ, टाउको कत्तिको दुख्छ भन्ने महत्वपूर्ण हुन्छ । वर्षमा दुई–तीनपटकसम्म टाउको दुख्छ भने औषधि प्रयोग गर्न जरुरी हुँदैन, माइग्रेनका ट्रिगरहरू पत्ता लगाएर त्यसको व्यवस्थापन गर्न सकिन्छ । तनाव, निद्राको कमी, पानीको कमी र चिल्लो, पिरो, जंकफुडलगायत खाना यसका ट्रिगर हुन् । 

मानिसलाई जे खानाले समस्या देखिन्छ, त्यस्ता कुरा नखाने तथा जीवनशैली सुधार्ने हो भने यस्ता समस्याबाट बच्न सकिन्छ । यदि माइग्रेनले दैनिक जीवनलाई नै असर गरिरहेको छ, कार्यालय जान नसक्ने, स्कुल छोड्नुपर्ने अवस्था आएको छ भने स्नायु चिकित्सकसँग सल्लाह गरेर आवश्यक औषधि लिनुपर्छ । माइग्रेनको उपचार केही महिनादेखि केही वर्षसम्म पनि गर्नुपर्ने हुन सक्छ ।

माइग्रेनबारे भ्रम 

कतिपयले यो सरुवा रोग हो कि भनेर सोध्छन् । यो सरुवा रोग होइन । 

कतिपयले कडा खालको माइग्रेनमा केही समय औषधि खाँदा शरीरलाई केही हानि हुँदैन भन्ने सोच्छन् । तर, चिकित्सकको सल्लाहविना टाउको दुखेका वेला आफैँ पेनकिलर औषधि सेवन गर्दा भने ती औषधिका अनावश्यक साइड इफेक्ट हुने सम्भावना अत्यधिक हुन्छ । ग्यास्ट्राइटिस, मिर्गौला फेलियर आदि समस्या देखिन सक्छन् । 

माइग्रेनका कारण टाउको दुख्दा चिकित्सकलाई देखाउनुपर्छ । समयमै देखाउँदा रोग पहिचान हुन्छ र उपचार सम्भव हुन्छ । माइग्रेनको लामो समय उपचार नहुँदा यसले अन्य जटिलता निम्त्याउन सक्छ । उपचारमा ढिलाइ गर्नेलाई ४० देखि ५० को उमेर कटेपछि टाउकोमा रगत जम्ने रोग सेरेब्रल ह्याम्रेज देखिन सक्ने विभिन्न शोधले पत्ता लगाएका छन् । 

माइग्रेनजस्तै देखिने तर योभन्दा खतरनाक रोगहरू पनि हुन्छन् । टाउकोको टिबी, टाउकोको ट्युमर, एन्युरिजम फुट्नेलगायत समस्याले पनि टाउको दुखेको हुन सक्छ । छारेरोगका कारण पनि दुखेको हुन सक्छ । आँखा रातो हुने, उज्यालो हेर्न नसकिने, गर्दन झुकाउँदा गर्दन दुख्‍ने, केही समय बेहोस हुने, मुख बांगिने वा शरीरका कुनै भाग कमजोर हुनेलगायत लक्षण यस्तो रोगमा देखिन्छन् । एन्युरिजभ फुटेर हुने टाउको दुखाइ प्रायः जीवनकै सबैभन्दा नराम्रो टाउको दुखाइका रूपमा बिरामीले महसुस गर्दछ । केही सामान्य औषधि लिँदा यो टाउको दुखाइ कम भएजस्तो हुन्छ, तर सोही एन्युरिजम फेरि फुट्दा बिरामीको ज्यानै जान सक्छ । त्यसैले टाउको निरन्तर दुख्छ भने यसको कारण पहिल्याउन लाग्‍नुपर्छ । त्यसका लागि चिकित्सकसँग परामर्श लिएर चेकजाँच गर्नु राम्रो हुन्छ । 

यदि ब्रेन ट्युमरका कारण टाउको दुखिरहेको छ भने बिहान उठ्दादेखि नै टाउको दुख्ने समस्या देखिन्छ र बान्ता पनि हुने गर्छ । यसलाई हामी अर्ली मर्निङ हेडेक एन्ड भोमिटिङ भन्छौँ । टेन्सन टाइप हेडेकका कारण पनि टाउको दुखेको हुन सक्छ । यसमा मध्याह्नपछि टाउको दुख्‍न थाल्ने र साँझ पर्दै जाँदा बढ्ने, टाउकोको मासु टाइट भएर ब्यान्डजस्तो थिच्‍ने वा कपालको जरा–जरा दुखेको अनुभव हुने, चिडचिडाहट हुने गर्दछ । टेन्सन टाइप हेडेकमा बान्ता भने हुँदैन । चिकित्सकले बिरामीको अवस्था र लक्षण हेरेर रोगको निक्र्योल गर्न सक्ने भएकाले यस्ता समस्या देखिएमा स्‍नायुरोग चिकित्सकसँग परामर्श गर्नुपर्छ ।