
ड्युटी समय परिवर्तन र कडाइ गरेको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)को इमर्जेन्सीमा कार्यरत आवासीय (रेसिडेन्ड) चिकित्सकहरू आन्दोलित बनेका छन् । अस्पताल प्रशासनले इमर्जेन्सीमा कार्यरत चिकित्सकले २४ घन्टा खट्नुपर्ने सूचना जारी गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । केएमसीको इमर्जेन्सीमा १२५ जना चिकित्सक कार्यरत हुन् ।
यसअघि इमर्जेन्सीमा खटिएका चिकित्सक बिरामी नभए वा आवश्यक नपरे ड्युटीमा बस्नुपर्दैनथ्यो । बिरामीको आवश्यकताअनुसार ड्युटीमा प्रवेश गरे हुन्थ्यो । तर, २ चैतदेखि अस्पताल प्रशासनले सो दिन इमर्जेन्सीमा तोकिएका चिकित्सकले ड्युटी नसकिएसम्म छाड्न नपाइने बाध्यकारी नियम जारी गरेको छ ।
तीन–तीन दिनको फरकमा आवासीय चिकित्सकको ड्युटी इमर्जेन्सीमा पर्छ । जुन दिन ड्युटी परेको छ सो दिन इमर्जेन्सी कक्ष छाड्न नमिल्ने अस्पताल प्रशासनले जारी गरेको नियममा उल्लेख छ । तर, त्यसको विरोध गर्दै चिकित्सकहरूले पुरानै समय तालिकाअनुसार खटाउन माग गरेका छन् । यदि पुरानो नियमअनुसार अस्पताल प्रशासन नचले सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । उनीहरूले दबाब दिने उद्देश्यले बुधबारदेखि नै पेनडाउन गरेका छन् । अस्पताल प्रशासन र चिकित्सकहरूबीच बुधबार भएको पहिलो चरणको छलफलमा प्रशासनले माग पूरा नगर्ने बताएको छ ।
अस्पतालका निर्देशक केपी शर्माले गत आइतबार चिकित्कलाई आफ्नो कक्षमा बोलाएर हप्काएको र नयाँ ड्युटी तालिकाअनुसार काम नगरे बिदा बस्न चेतावनी दिएको जनाइएको छ । त्यसयता चिकित्सक र प्रशासनबीच विवाद बढेको छ । २ चैतमा अस्पतालले आवासीय चिकित्सकलाई २४ घन्टा ड्युटी गर्नुपर्ने नियम जारी गरेको थियो । तर, सो दिन ड्युटीमा रहेका आवासीय एक चिकित्सकले नियम नमानेपछि दुई साताका लागि निलम्बित गरिएको थियो ।
अस्पताल प्रशासनले आवासीय चिकित्सकलाई अपमानजनक व्यवहार गरेको भन्दै चिकित्सकहरूले नियम फिर्ता लिन माग गरेका छन् । माग पूरा नभएसम्म पेनडाउन जारी रहने एक आवासीय चिकित्सकले बताए । उनका अनुसार निलम्बित चिकित्सकलाई यथाशीघ्र काममा फर्काउनुपर्ने, मूल्यांकनका आधारमा आवासीय चिकित्सकको पोस्टिङ हुनुपर्ने, आधारभूत सुविधा उपलब्ध गराउनुपर्नेलगायत माग राखिएको छ । अस्पताल प्रशासनले चिकित्सकबाट हुने हेलचेक्र्याइँ र इमर्जेन्सीको आवश्यकतालाई ख्याल गर्दै ड्युटी समय बढाएको हो ।