मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ९ बिहीबार ०८:११:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए

Read Time : < 1 मिनेट
२०७९ चैत ९ बिहीबार ०८:११:००

जर्मनीका चर्चित मिडफिल्डर मेसुट ओजिलले बुधबार अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यास लिएका छन् । पछिल्ला समयमा ओजिलको खेल प्रदर्शनभन्दा विवादास्पद टिप्पणी तथा चोटकै चर्चा व्यापक भइरहेको थियो । यही तनावबाट मुक्त हुन नै ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । सन् २०१४ मा जर्मनीले ब्राजिलमा विश्वकप फुटबलको उपाधि उचाल्दा ओजिलले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

विश्व च्याम्पियन खेलाडी ओजिलले जर्मन टोलीमा १७ वर्ष बिताएका छन् । ‘मैले जीवनको १७ वर्ष व्यावसायिक फुटबलरका रूपमा बिताएँ, यस अवधिलाई गौरवान्वित ठानेको छु,’ ओजिलले सोसल मिडियामा भनेका छन्, ‘मलाई यहाँसम्मको यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद छ ।’ ओजिलले एकनासले मैदानमा प्रदर्शन गर्न नसकेका कारण पनि सन्न्यास लिएको जनाएका छन् । 

आर्सनल र रियल म्याड्रिडजस्तो विश्वचर्चित क्लबमा आबद्ध भइसकेका ओजिल पछिल्लो समय टर्कीको शीर्ष लिगको क्लब इस्तानबुल बासाकेसियरमा आबद्ध छन् । ओजिल सन् २०२१ मा इंग्लिस क्लब आर्सनलबाट टर्कीसँग आबद्ध हुन पुगेका थिए । फुटबल करिअरमा उनले साल्के, वेर्डेर बेर्मेन, फेनेरबाचे र बासाकेसियरबाट पनि खेले । 

ओजिल समकालीन फुटबलका एक उत्कृष्ट मिडफिल्डर खेलाडी हुन् । उनले सन् २००९ मा जर्मनीको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । ९२ अन्तर्राष्ट्रिय खेलमा ओजिलले २१ गोल गरेका छन् । क्लबस्तरीय करिअरमा ओजिलले नौ उपाधि जितेका छन् । उनले चारपटक एफए कपको उपाधि जितेका थिए । सन् २०१२ को सिजनमा उनी स्पेनिस ला लिगा च्याम्पियन बनेका थिए । सन् २०१० को सिजनमा उनले स्पेनिस क्लब रियल म्याड्रिडबाट तीन प्रमुख उपाधि जिते ।