नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आफूअनुकूल नतिजा निकालेको छ । दशरथ रंगशालामा नेपालले १८७औँ स्थानमा रहेको लाओसमाथि २–० को जित हात पार्यो । यद्यपि, नेपालको जित सहज भने थिएन । पहिलो र दोस्रो हाफमा अग्रता लिए पनि नेपालले गोलका लागि संघर्ष गरेको देखिन्थ्यो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरेका थिए । जितसँगै तीन अंक जोडेको नेपाल फाइनलनजिक पुगेको छ ।
नेपालले मंगलबार फिफा डेको दिन भुटानसँग खेल्ने तालिका छ । नेपालले लाओसविरुद्ध दोस्रो जित निकालेको छ । यसअघिको एक भेटमा नेपालले नै जित निकालेको थियो । सन् २०१६ मा भएको सोलिडारिटी कपमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३–० को जित निकालेको हो । नियमित राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेका धेरैजसो खेलाडी विदेश पलायन हुनु र नयाँ प्रशिक्षक भिसेन्जो अल्बर्टोको छोटो समयको तयारीका कारण नै नेपालले आफूभन्दा फिफा वरीयतामा १२ स्थानमुनि रहेको लाओसमाथि जित निकाल्न मिहिनेत गर्नुपरेको थियो ।
प्रशिक्षक भिसेन्जोले लाओसविरुद्ध युवा खेलाडीलाई नै बढी प्राथमिकतामा राख्दा मिडफिल्ड खासै चल्न सकेन । यद्यपि, उनले आफ्नो पहिलो प्रशिक्षणमै जित हात पार्न सफल भए । भिसेन्जोले मुख्य प्रशिक्षकका रूपमा पहिलो जित महत्वपूर्ण भएको बताए । ‘मेरो यात्रामा यो महत्वपूर्ण जित रह्यो,’ खेलपछि भिसेन्जोले भने, ‘हामीले युवा टोली बनाएका छौँ, टोलीमा धेरै नयाँ खेलाडी छन् ।’ फिफा वरीयताको १८५औँ स्थानमा रहेको भुटानसँगको प्रतिस्पर्धामा सुधार हुने प्रशिक्षक भिसेन्जोको भनाइ छ । ‘हामीले लाओससँग राम्रो नै खेलेको भन्नुपर्छ, नेपालको बल पोसेसन बलियो थियो, खेलाडीमा ऊर्जा थियो,’ खेलको समीक्षा गर्दै उनले भने, ‘मेरो पहिलो अन्तर्राष्ट्रिय खेल हो । मलाई थाहा छ । म चाहन्छु, बिस्तारै टोली राम्रो हुन्छ ।’
मध्यान्तरअघि अग्रता
निकै छोटो समयको तयारीमा नेपाली टोली बनेको हो । यसै कारण लाओसविरुद्धको खेलको सुरुवाती क्रममा नेपाली खेलाडीबीच तालमेल मिल्न सकेन । नेपालले पहिलो गोलको अग्रता लिन ३० मिनेट प्रतीक्षा गरेको थियो । अनन्तले नेपाललाई १–० ले अगाडि राखे । नवीन लामाको कर्नरमा डिबक्सभित्र अनमार्क रहेका अनन्तले हेडिङ गोल गरेका थिए । उनको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो । खेलमा उनी नै म्यान अफ दी म्याच भए ।
नेपालले दोस्रो गोल मध्यान्तरपछि सम्भव पार्यो । नवयुग श्रेष्ठले खेलको ५६औँ मिनेटमा नेपाललाई २–० को अग्रता दिलाए । मैदानको करिब ३५ यार्डबाट नवयुगले प्रहार गरेको भली प्रहार सीधै गोल भयो । नवयुगको शक्तिशाली प्रहार लाओसका गोलरक्षक जेसभाथले ठम्याउन सकेनन् ।
नवयुगको यो आठौँ अन्तर्राष्ट्रिय गोल हो । सन् २०२१ मा नवयुगले विश्वकप छनोटमा चाइनिज ताइपेविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । लाओसका प्रशिक्षक माइकलले नवयुगको गोल उत्कृष्ट रहेको र गोलरक्षकले बल रोक्न तयार नभएको प्रतिक्रिया दिए । रंगशालामा दुवै टोलीले गोल अवसर चुकाए । दोस्रो हाफमा नेपालका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले फुत्काएको बललाई अनन्तले गोललाइननजिकैबाट क्लियर गर्दै गोल हुनबाट बचाएका थिए ।
सनिस, मणि, दीपक र सुमितको डेब्यु
नेपालका प्रशिक्षक भिसेन्जोले पाँच हजार एक सय ७० समर्थकमाझ सनिस श्रेष्ठ, मणिकुमार लामा, सुमित श्रेष्ठ र दीपकराज सिंह ठकुरीलाई नेपालका लागि राष्ट्रिय टोलीबाट डेब्यु गराएका छन् । लाओसविरुद्ध राइट ब्याक सनिसले ‘प्लेइङ सेट’ तथा मिडफिल्डरद्वय मणि र सुमित तथा स्ट्राइकर दीपकले दोस्रो हाफमा डेब्यु गरेका थिए । सनिसले पूरा समय मैदान बिताएका थिए ।
मणि खेलको ७३औँ मिनेटमा नवीन लामाको स्थानमा मैदान प्रवेश गरे । दुवै खेलाडी घरेलु लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट खेल्छन् । दीपकले सातदोबाटो युथ तथा सुमितले मनाङ मस्र्याङ्दीबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका छन् । दीपक खेलको ८३औँ मिनेटमा नवयुग र सुमित सुनील बलको स्थानमा इन्जुरी समयमा मैदान प्रवेश गरे ।
बिस्तारै खेल राम्रो हुन्छ
भिसेन्जो अल्बर्टाे, मुख्य प्रशिक्षक, नेपाल
खेल निकै स्लो भयो । सबै खेलाडी नयाँ थिए । अधिकांश खेलाडी यू–२३ टोलीका छन् । लाओसले राम्रो बल पकड बनायो । उनीहरूमा जोस थियो । हामी अनुशासित खेल्न चाहन्थ्यौँ । हामी केही राम्रो गर्न चाहन्छौँ । नवयुगको गोल निकै सुन्दर थियो । हामीले राम्रो अवसर गुमायौँ । अर्काे खेलमा भुटानसँग खेल्न तयार छौँ । मेरो पहिलो अन्तर्राष्ट्रिय खेल हो । बिस्तारै नेपाली टोली राम्रो हुन्छ ।
खेल बराबरी हुनुपर्ने थियो
हान्स माइकल, प्रशिक्षक, लाओस
नेपालसँगको प्रतिस्पर्धामा खेलाडीको प्रदर्शनमा खुसी छु । हाई अल्टिच्युडमा पनि खेलाडीले राम्रो खेले । नेपालको प्रदर्शनलाई राम्रो भन्न सकिन्न । यो खेल कम्तीमा बराबर हुनपर्ने थियो । खेलमा हामीले दुई राम्रो गोल अवसर गुमायौँ । यहाँको मैदान राम्रो छ । अब अर्को खेलमा भुटानविरुद्ध सकारात्मक सोचका साथ खेल्छौँ ।