मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ८ बुधबार ११:२६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दाँत स्वस्थ राख्न के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ८ बुधबार ११:२६:००

दाँत हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये एक हो । यदि समयमै दाँतको स्याहार गरिएन भने विभिन्न समस्या देखिन सक्छ । दाँतको दुखाइ, गिजामा दुखाइ, उमेरभन्दा पहिल्यै दाँत झर्नु, दाँत पहेँलो हुनु, मुख दुर्गन्धित हुनेलगायत समस्या देखिन्छन् । 

दाँतको सुरक्षाका लागि दिनमा दुईपल्ट ब्रस गर्न जरुरी छ । जब कि धेरैजसो मानिस बिहान मात्रै ब्रस गर्छन् । हामीले राति सुत्नुअघि पनि दाँत ब्रस गर्न जरुरी हुन्छ । किनकि, धेरैजसो ब्याक्टेरियाले रातकै समय दाँतमा हमला गर्छन् । राति सुत्नुअघि ब्रस गर्दा मुखभित्र दिनभर जम्मा भएका ब्याक्टेरिया र विषाक्त पदार्थ सफा हुन्छन् र दाँत स्वस्थ रहन्छ । 

फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्नुपर्छ । फ्लोराइडले कीटाणु र ब्याक्टेरियासँग लड्छ । त्यस्तै, केही खाना खाइसकेपछि मुख कुल्ला गर्न बिर्सनुहुँदैन । यसो गर्दा मुखको दुर्गन्ध पनि हट्छ र ब्याक्टेरियाबाट पनि बच्न सकिन्छ । 

दाँत बलियो राख्नका लागि आफ्नो खानपानमा पनि ध्यान दिनुपर्छ । खानामा क्याल्सियमको मात्रा बढाउनुपर्छ । दूध, दही, पनिर, गेडागुडी, नट्स, दाल तथा हरियो सागपातमा पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । हरियो सागपातमा रहेको भिटामिन र मिनरलले दाँत स्वस्थ राख्न भूमिका खेल्छ । वर्षमा दुईपटक डेन्टिस्टसँग अनिवार्य चेकअप गर्नुपर्छ । यसो हुँदा दाँतमा देखिएका कुनै पनि समस्याको समयमै पहिचान हुन्छ । 

यस्तो अवस्थामा जरादेखिको उपचार 

हरेक दाँतको बाहिरी सतह इनामेल र डेन्टिनभित्र रहेको नरम तत्वलाई पल्प भनिन्छ, जसमा रक्तनली र नसाहरू हुन्छन् । तपाईंको दाँतमा कुनै पनि कारणले गर्दा आघात पर्न सक्छ । जस्तै, दाँत किराले खाएर गहिरो हुँदै गएमा वा दाँतमा कुनै पनि चोटपटक लागेमा यस्तो समस्या देखिन सक्छ । नसालाई आघात पर्न गएमा दाँत दुख्न थाल्छ । समयमा उपचार गरिएन भने संक्रमण बढ्दै जान्छ । जसले गर्दा दाँत र वरपरको हड्डीमा अझै क्षति पुग्न सक्छ र अन्त्यमा दाँत निकाल्नुपर्ने हुन सक्छ । यसरी दुखेको दाँतको नसादेखि नै गरिने उपचारलाई आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) भनिन्छ । आरसिटी गरेपछि दाँत दुखाइ कम हुँदै जान्छ ।

कसरी गरिन्छ ?
दाँत दुखेको अवस्थामा यसको वरिपरि सुई लगाएर, नदुख्ने बनाएर आरसिटी उपचार सुरु गरिन्छ । दाँतको माथिल्लो भागमा सानो प्वाल बनाएर जरासम्म पुग्ने बाटो बनाइन्छ र नसाका नली सफा गर्ने सानो–सानो सामान छिराएर नसाहरू नलीबाट निकालिन्छ । 

यसरी उक्त नसाका नलीहरू पूर्ण रूपले सफा भएपछि कृत्रिम नसा, जसलाई गट्टा पर्चा भनिन्छ, त्यसलाई नसाको नलीमा राखिन्छ र दाँतको माथिल्लो भागमा बनाइएको प्वाललाई सिमेन्ट लगाएर टालिन्छ । 

समय 
तपाईंको दाँतमा भएको जराको संख्या, त्यसको बनावट, संक्रमणको स्तर, रोगप्रतिरोधी क्षमतालगायत कुराले उपचारमा लाग्ने समय निर्धारण गर्छ । कसैलाई तीन–चार दिनको अन्तरालमा तीन–चारपटक जानुपर्ने हुन्छ । कसैलाई बढी समय जानुपर्ने हुन सक्छ । हरेकपटक ३०–४५ मिनेटको समय लाग्न सक्छ । 

आरिसिटी गरेपछि दाँतमा नसा र रक्तसञ्चार नहुने कारणले दाँत कमजोर हुन्छ । त्यसैले दाँतलाई पूर्ण रूपमा बलियो बनाउन यसमा खोल (क्राउन) लगाउनुपर्ने हुन्छ । विशेषगरी, चपाउन प्रयोग हुने बंगाराहरूमा खोलको आवश्यकता धेरै पर्छ । खोल नलगाए दाँत भाँच्चिने जोखिम हुन्छ ।