मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ चैत ८ बुधबार ०९:२९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वडा प्रहरी कार्यालय हटाएर व्यापारिक कम्प्लेक्स बनाउँदै ललितपुर महानगर, स्थानीय र प्रहरीको विरोध 

ललितपुर महानगरपालिका वडा नम्बर ५, ६, १२, १३, १४, १५, १९ र २० भित्रको शान्ति सुरक्षाको जिम्मा यही प्रहरी कार्यालयअन्तर्गत छ

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ चैत ८ बुधबार ०९:२९:००

ललितपुर महानगरपालिकाले वडा नम्बर १२ लगनखेलस्थित वडा प्रहरी कार्यालय जबर्जस्ती हटाउन खोजेपछि स्थानीय र कार्यरत प्रहरीले विरोध जनाएका छन् । ०४६ सालदेखि प्रहरी कार्यालयका रूपमा रहेको सरकारी भवन भत्काएर महानगरले व्यापारिक कम्प्लेक्स बनाउन लागेपछि त्यसको विरोध भएको हो । 

लगनखेल क्षेत्रमा रहेका टोल सुधार समिति, स्थानीय नागरिक समाज गरी २० वटा संघ–संस्थाले ललितपुर महानगरलाई प्रहरी कार्यालय नहटाउन मागसहित ज्ञापनपत्र पनि बुझाएका छन् । बसपार्क र घनाबस्तीमा रहेको प्रहरी कार्यालय हटाएपछि शान्ति सुरक्षामा असर पर्ने भन्दै टोल सुधार समितिसहितका संस्थाले विरोध जनाउँदै नहटाउन माग गरेका हुन् । लगनखेल समाज, लगनेश्वर महादेव यातायात प्रालि, करुणा टोल सुधार समिति, श्रीकुमारी पार्टी क्लब, लगनखेल भजनमण्डल, थटी टोल सुधार समिति, पाटन अस्पताललगायतले प्रहरी बसेको दुईतले भवन नभत्काउन महानगरको ध्यानाकर्षण गराएका छन् । 

ललितपुर महानगरपालिका वडा नम्बर ५, ६, १२, १३, १४, १५, १९ र २० भित्रको शान्ति सुरक्षाको जिम्मा यही कार्यालयलाई दिइएको छ । वरिष्ठ सइको कमान्डमा ३५ जना प्रहरी दरबन्दी रहेको यस कार्यालयमा हाल ४८ जना प्रहरी कार्यरत छन् । यस क्षेत्रमा जुवा, पकेटमार, लुटपाट, चोरी, बलात्कारजस्ता घट्ना धेरै हुने भएकाले जिल्ला प्रहरी परिसर जावलाखेलले दरबन्दीभन्दा बढी सुरक्षाकर्मी यस कार्यालयमा राखेको छ । तर, महानगरपालिका प्रहरी कार्यालयमा डोजर लगाउन तम्तयार भएपछि स्थानीय र प्रहरीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रहरी कार्यालयको आडैमा लगनखेल बसपार्क छ । बसपार्क आसपासमा धेरै होटेलहरू छन् । दक्षिण ललितपुर तथा छोटो रुटका सवारीसाधन यहीँबाट छुट्छन् । दक्षिण ललितपुरसम्मका मानिस लगनखेलमै किनमेल गर्न आउँछन् । यो क्षेत्रमा ऐतिहासिक मठ–मन्दिर र अन्य सम्पदा छन् । यहाँबाट प्रहरी कार्यालय हटे, पुरातात्विक महत्वका मूर्ति तथा अन्य बहुमूल्य वस्तु हराउने जोखिम रहेको बटुक भैरव टोल सुधार समितिका अध्यक्ष राजन ठकुरीले बताए । ‘सुरक्षाको हिसाबले यो क्षेत्र संवेदनशील मानिन्छ । बसपार्क, होटेलहरू र व्यापारिक क्षेत्र भएकाले मानिसहरूको ज्यादै भिडभाड हुन्छ,’ उनले भने, ‘यहाँबाट प्रहरी हटे, यस क्षेत्रको शान्ति सुरक्षामा समस्या आउँछ ।’ 

महानगरले हस्तक्षेप गर्न खोजेको आरोप
महानगरपालिकालाई सरकारी जग्गाको अभिलेख राख्नेबाहेक अन्य अधिकार हुँदैन । सरकारी जग्गाको संरक्षण, रेखदेख र मर्मत–सम्भारको अधिकार जिल्ला प्रशासन कार्यालयमा रहने कानुनी व्यवस्था छ । यदि ललितपुर महानगरपालिकाले उक्त जग्गा प्रयोग गर्न चाहे नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्नेछ । यसबारे मन्त्रिपरिषद्मा हालसम्म कुनै पनि प्रस्ताव गएको छैन ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पनि उक्त जग्गा जिल्ला प्रशासनको अधिकारभित्र पर्ने बताए । महानगरले जबर्जस्ती गर्न खोजेको बारेमा जानकारी लिने उनले बताए । ‘यो स्थानमा व्यापारिक भवन बनाउने योजना नै छैन,’ उनले भने, ‘यसबारे मेयरसाबसँग कुराकानी गर्छु । प्रहरी कार्यालयलाई नहटाउन भनिसकेको छु ।’ 

१ मंसिर ०६३ मा महानगरीय प्रहरी अवधारणाअनुसार महानगरीय प्रहरी प्रभाव लगनखेल नामकरण भएको थियो । ०७८ मा पुनः नामकरण भई हालको वडा प्रहरी कार्यालय कायम भएको हो । यो प्रहरी कार्यालय करिब पाँच रोपनीमा छ । यस क्षेत्रमा आपराधिक गतिविधि बढेको र त्यसलाई नियन्त्रण गर्न प्रहरी दरबन्दी थपेर डिएसपीको कमान्डमा वृत्तका रूपमा विकास गर्ने जिल्ला प्रहरी परिसरको योजना छ । ललितपुरमा हाल दुईवटा मात्रै वृत्त छन् । 

प्रहरी भवन भत्काउनेबारे सात महिनाअघि नै निर्णय
१ भदौ ०७९ मा ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, एसएसपी यज्ञविनोद अधिकारी, वडा ९ र १२ का अध्यक्ष, महानगरका पूर्वाधार निर्माण महाशाखा प्रमुख रुद्र गौतमलगायत सहभागी बैठकले वडा प्रहरी कार्यालय रहेको भवन भत्काउने निर्णय गरेको थियो । त्यतिवेला प्रहरीलाई लगनखेलनजिकै भाडाको घर खोजिदिने निर्णय भएको पनि थियो । तर, हालसम्म वैकल्पिक ठाउँ तोकिएको छैन । महानगरले आफ्नो स्वामित्वमै नभएको जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन ठेक्का सम्झौतासमेत गरिसकेको छ । यहाँबाट साततले भवन बनाउने गरी गत १२ असारमा ठेक्का सम्झौतासमेत भइसकेको छ । ठेक्का सम्झौता भएयता महानगरले प्रहरी कार्यालय हटाउन वडा प्रहरी कार्यालय लगनखेल र प्रहरी परिसरलाई बारम्बार पत्राचार र निर्देशन दिँदै आएको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनले परिसरका एसएसपी सिद्धिविक्रम शाहलाई वडा प्रहरी कार्यालयका सामान हटाएर खाली गरिदिन आग्रह गर्दै आइरहेका छन् । तर, प्रहरीले कार्यालय अन्यत्र सार्न मिल्ने ठाउँ नभएको जनाएको छ । ललितपुरका तत्कालीन प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले उक्त जग्गा ललितपुर महानगरको नभएको र प्रहरीले छाड्न नहुने बताए । तर, १ भदौ ०७९ मा भएको मेयर र प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा भने उनैले हटाउनुपर्छ भनेर हस्ताक्षर गरेका छन् । ‘बुझ्दै जाँदा उक्त जग्गा नेपाल सरकारको रहेछ, महानगरको नामको जग्गा होइन,’ उनले भने, ‘महानगरवासीकै सुरक्षामा खटिने प्रहरीलाई त्यसरी हटाउनुहुँदैन ।’ 

तीन गाउँपालिकाको सुरक्षामा ६५ प्रहरी  
दक्षिण ललितपुर क्षेत्रमा तीनवटा गाउँपालिका छन् । ती गाउँपालिकामा करिब ४२ हजार जनसंख्या छ । भौगोलिक र जनसंख्याका हिसाबले यति ठूलो क्षेत्रमा जम्मा ६५ जना प्रहरी कार्यरत छन् । तीन गाउँपालिकाका भट्टेडाँडा आश्राङ, गिम्दी र कालेश्वरका चारवटा चौकीमा ४० जना र कोन्ज्योसोम र गोटीखेल इलाका प्रहरी कार्यालयमा २५ जना गरी ६५ जना प्रहरी कार्यरत छन् । चौकीमा वरिष्ठ सइ र इलाकामा इन्सपेक्टरको कमान्ड छ । 

भूभाग र जनसंख्याको हिसाबले दक्षिण ललितपुरका तीनवटा गाउँपालिकाको हालको सुरक्षा जनशक्ति र कार्यालय निकै कम हो । यी चौकी तथा इलाका प्रहरी कार्यालयहरू प्रहरी वृत्त चापागाउँमातहत रहेका छन् । थप प्रहरी परिचालन गर्नुपरे यही वृत्तबाट खटाइन्छ । तर, विकट क्षेत्र भएकाले चापागाउँदेखि प्युटार, आश्राङ, कालेश्वर, गिम्दी र ठूलादुर्लुङ पुग्न दुईदेखि पाँच घन्टा लाग्छ । अझ बर्सातका वेला ग्रामीण सडक अवरुद्ध हुने भएकाले ओहोरदोहोरमा समस्या हुने गर्छ ।

दुर्गमका प्रहरी चौकीसमेत भाडाको जग्गामा
ललितपुरको ग्रामीण क्षेत्रमा रहेका अधिकांश प्रहरी चौकीसमेत दयनीय अवस्थामा छन् । जिल्लाका तीन स्थानीय तह बागमती, कोन्ज्योसोम र महाँकाल गाउँपालिकामा (भट्टेडाँडा, आश्राङ, गिम्दी र कालेश्वर) जम्मा चारवटा प्रहरीचौकी छन् । कोन्ज्योसोम र गोटीखेलमा रहेका ०७१/७२ मा स्थापना भएका इलाका प्रहरी कार्यालयसमेत भाडाको जग्गामा छन् । भट्टेडाँडाको प्रहरीचौकी मात्रै आफ्नै भवनमा छ । 

स्थानीय व्यक्तिको जग्गा भाडामा लिएर निर्माण गरिएका प्रहरी कार्यालयबाट प्रहरीले ग्रामीण क्षेत्रमा शान्ति सुरक्षा दिँदै आइरहेको छ । यहाँका प्रहरी कार्यालय कमजोर नरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । सर्वसाधारणको शान्ति सुरक्षामा खटिने प्रहरीको बसोवास सहज बनाउन आवश्यक रहेको उनले बताए ।

दक्षिण ललितपुरमा प्रहरीको स्थायी वास नहुँदा प्रहरीले शान्ति सुरक्षाका लागि चाहिने सामग्रीसमेत सुरक्षित राख्न सकेका छैनन् । लट्ठीका भरमा शान्ति सुरक्षामा खटिने गरेका छन् । यस क्षेत्रका ठूलादुर्लुङ क्षेत्रमा टेलिफोन र वाकीटकी सेटले समेत काम गर्दैन । प्रविधिको समेत सहज सुविधा नपुगेका कारण ग्रामीण भेगमा सुरक्षा प्रवाह गर्न कठिन भइरहेको सुरक्षामा खटिएका प्रहरी बताउँछन् । सीमित स्रोत–साधनका भरमा ग्रामीण क्षेत्रमा खटिनुपरेको प्रहरी चौकी भट्टेडाँडाका इन्चार्ज माधव सिलवालले बताए ।