
काठमाडौं महानगरपालिकाले स्थापना गरेको कल सेन्टर (सोधपुछ तथा गुनासो)मा हरेक महिना ११ सयभन्दा धेरै फोन आउन थालेको छ । महानगरकाका अनुसार पछिल्लो तीन महिनामा कल सेन्टरमा साढे ३४ सय कल फोन आएको छ ।
पुस महिनामा १२ सय ४७, माघमा ११ सय र फागुन महिनामा ११ सय १७ फोन कल आएको महानगरले जनाएको छ । कलसेन्टर स्थापना भएयता २७ हजार नौ कल फोन आएको छ । जसमध्ये २४ सय १५ वटा गुनासो रहेका छन् । ती गुनासोमध्ये १४ सय १६ सम्बोधन भइसकेको छ भने नौ सय ९७ सम्बोधनको चरणमा छ । नवनिर्वाचित जनप्रतिनिधिहरूले पदबहाली गरेपछि १६ जेठमा बसेको कार्यपालिकाको पहिलो बैठकले सात दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै २४ जेठदेखि राष्ट्रिय सभागृहमा कल सेन्टर सञ्चालन गरिएको थियो ।
महानगरसँग कुनै गुनासो भए वा सोधपुछ गर्नुपरे टेलिफोन नम्बर १६६००१०५५११ मा निःशुल्क सम्पर्क गर्न सकिने व्यवस्था छ । टोल फ्री नम्बरबाहेक अब इमेल, वेबसाइटमार्फत पनि सुझाव, समस्या पठाउन सकिने व्यवस्था गरेको छ । कल सेन्टरमा सबैभन्दा धेरै गुनासो महानगरअन्तर्गतको नगर प्रहरीका लागि हुने गरेको छ । नगर प्रहरीका लागि आएको नौ सय गुनासोमध्ये आठ सय ७६ समाधान भइसकेको छ ।
वातावरण विभागका लागि चार सय ८० गुनासो आएका थिए । गुनासोमध्ये दुई सय ३१ को सम्बोधन भइसकेको छ भने दुई सय ४९ सम्बोधन हुन बाँकी छ । सार्वजनिक निर्माण विभागका लागि चार सय ५० गुनासोमध्ये एक सय ७८ सम्बोधन हुँदा दुई सय ७२ गुनासो सम्बोधन हुन बाँकी छ । प्रमुखको सचिवालयका लागि आएका पाँच सय ३२ गुनासोमध्ये दुई ५९ सम्बोधन भएका छन् भने दुई सय ७३ गुनासो सम्बोधन हुन बाँकी छन् । जनस्वास्थ्य विभागका लागि एक सय ५५ गुनासो आएका थिए ।