१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ चैत ८ बुधबार ०७:५८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कार्यान्वयनमा आउन सकेन अक्सन मार्केट

नेप्सेले दोस्रोपटक कार्यविधि बनाएर पठाए पनि बोर्डले स्वीकृत गरेन

Read Time : > 1 मिनेट
२०७९ चैत ८ बुधबार ०७:५८:००

नेपाल धितोपत्र बोर्डले अनुमति नदिँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लिलाममार्फत किनबेच हुने सेयर (अक्सन मार्केट) सञ्चालनमा ल्याउन सकेको छैन । नेप्सेले अक्सन मार्केट कारोबार सञ्चालनसम्बन्धी कार्यविधि दोस्रोपटक बोर्डमा पठाएको महिनौँ बितिसक्दा पनि बोर्डले चासो नदिएको हो ।

नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले अक्सन मार्केटको कार्यविधि बनाएर पठाएको भए, बोर्डले स्वीकृत नदिएको कारण थप कार्य गर्न नसकिएको बताए । उनले भने, ‘अक्सन मार्केट सञ्चालनका लागि नेप्से तयारी अवस्थामा छ । बोर्डले थप अध्ययन गरेर स्वीकृत दिनुपर्ने हुन्छ, स्वीकृत भएपछि अरू पक्रिया अघि बढ्छ ।’  

बोर्डबाट अनुमति प्राप्त भएसँगै नेपालमा पहिलोपटक यस अक्सन मार्केटको सुरुवात हुनेछ । यस्तो मार्केटको अभ्यास बंगलादेश, भारत, पाकिस्तानलगायतका देशहरूमा पनि भइरहेको छ । अक्सन मार्केट नेपालमा निकै प्रभावकारी हुने उनको दाबी छ ।

उनले भने, ‘नेपालजस्तो अविकसित मुलुकमा अक्सन मार्केट अनिवार्य छ । साथै, अक्सन मार्केट लगानीकर्ताबाट पनि माग भइरहेको छ ।’ निवर्तमान ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले क्लोज आउटको समस्या अहिले पनि कायमै रहेकाले अक्सन मार्केट अनिवार्य रहेको बताए । उनले भने, ‘यो अक्सन मार्केट आएसँगै क्लोज आउटको समस्या ८०–९० प्रतिशतले घट्छ, राफसाफ गर्ने सिडिएसीले भने थप काम गर्नुपर्ने देखिन्छ ।’

टिएमएसमा पनि अक्सन मार्केटको व्यवस्था हुनुपर्ने ब्रोकरहरूले जोड गर्दै आइरहेका छन् । नेप्सेले पनि आफ्नो टिएमएस ल्याउने तयारीमा छ । मैनालीका अनुसार टिएमएसमा पनि अक्सन मार्केटको व्यवस्था हुँदा जुन ब्रोकरको सेयर सेटल भएको छैन, त्यस ब्रोकरले किन्न पाउँछ, अरू ब्रोकर बेच्ने हुन्छन् । यो बजार बन्द भएको समयपछि १५ मिनेटका लागि सञ्चालन गरिन्छ, यसमा लगानीकर्ता नभई ब्रोकर मात्र समावेश हुन पाउँछन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अक्सन मार्केटको विषयमा अध्ययन भइरहेको बताए । उनले भने, ‘यो मार्केटमा जाँदा के–कस्ता जटिलताहरू आउँछन्, कानुनी प्रक्रियादेखि अन्य विषयगत अध्ययन गरेर छिट्टै निष्कर्षमा पुग्छौँ ।’

नेपाल क्लियरिङ लिमिटेड (सिडिएसी)का प्रवक्ता सुरेश न्यौपानेले बोर्डबाट अक्सन मार्केट अघि बढेपछि राफसाफमा सिडिएसी तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘पहिला त कार्यविधिअनुसार कार्य अघि बढ्नुप¥यो, त्यसपछि हामीले गर्ने तयारीका लागि अघि बढ्छौँ ।’

 के हो अक्सन मार्केट ? 
कारोबारमा सहभागी विक्रेताले कारोबार दिनभित्र आफ्नो सेयर नगरेको वा गर्न नसकेको अवस्थामा ब्रोकर (धितोपत्र दलाल व्यवसायी)ले अक्सन मार्केटबाट खरिद गरी हस्तान्तरण गर्न सक्छन् । अक्सन मार्केटमा सामान्य लगानीकर्ता सहभागी हुनुपर्दैन । आफ्ना ग्राहकको दायित्व पूरा गर्ने गरी ब्रोकर (कारोबार सदस्य) मात्र अक्सन मार्केटमा सहभागी हुन पाउँछन् । अक्सन मार्केट सञ्चालनका लागि स्टक एक्सचेन्जले निश्चित समय तोक्न सक्छ ।अक्सन मार्केटमा भएको कारोबारको राफसाफ ‘टी प्लस एक’ दिनभित्र गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ ।अक्सनमार्फत धितोपत्र खरिद गर्दा वास्तविक कारोबार मूल्यभन्दा बढीमा धितोपत्र खरिद गर्दा अपुग रकम ग्राहकले व्यहोर्नुपर्छ ।

कुनै सेयरधनीले सेयर बिक्री गरेर ट्रान्सफर (इडिआइएस) नगरे पनि ब्रोकर कम्पनीले क्रेतालाई सेयर उपलब्ध गराउनुपर्छ । त्यस्तो अवस्थामा ब्रोकरले अक्सन मार्केटबाट सेयर खरिद गरी क्रेतालाई समयमै सेयर उपलब्ध गराउन सक्छन् । 

तर, नेपालमा अक्सन मार्केट सञ्चालनमा नहुँदा ब्रोकर कम्पनीले क्रेताको डिम्याट खातामा सेयर पठाउन हप्तौँ दिन लगाइरहेका छन् । त्यस्तो अवस्थामा ब्रोकरले अक्सन मार्केटबाट सेयर खरिद गरेर क्रेतालाई उपलब्ध गराउनुपर्छ । कुनै कम्पनीको सेयरधनीले हजार कित्ता सेयर बेच्यो, तर उसले सेयर ट्रान्सफर गरेन भने ब्रोकरले अक्सन मार्केटमा गएर सेयर खरिद गरेर सेटलमेन्ट गर्न सक्छ । 

बजार खुल्ने समयभन्दा अगावै आवश्यक सेयरको संख्या र मूल्य खुलाई नेप्सेमा पेस गर्नुपर्छ भने खरिदकर्ताले पनि सोही प्रक्रियाअनुसार नेप्सेमा जानकारी गराउँछ । अक्सन मार्केटमा भएको कारोबारको राफसाफ कारोबार भएको भोलिपल्ट गरिनेछ ।