१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ८ बुधबार ०६:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपति पौडेल परिमार्जित ‘कारकेड’सहित घोडेजात्रामा सहभागी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ८ बुधबार ०६:५२:००

सवारीमा प्रयोग हुने अगुवा–पछुवा गाडी, जगेडा कार, एम्बुलेन्स, राष्ट्रपति सवार गाडीको दायाँबायाँ गुड्ने मोटरसाइकल हटाइयो

राष्ट्रपति रामचन्द्र पौडेल परिमार्जित ‘कारकेड’सहित घोडेजात्रामा सहभागी भएका छन् । गत शनिबार विना ‘कारकेड’ वसन्तपुरस्थित कुमारीघरको दर्शन गर्न पुगेका पौडेल मंगलबार टुँडिखेलस्थित सैनिक मञ्चमा भएको घोडेजात्रा समारोहमा राष्ट्रपति पौडेल चारवटा गाडीसहित सहभागी भएका थिए । सवारीमा प्रयोग हुने अगुवा–पछुवा गाडी, जगेडा कार, एम्बुलेन्स, राष्ट्रपति सवार गाडीको दायाँबायाँ गुड्ने मोटरसाइकल भने ‘कारकेड’बाट हटाइएका थिए ।

राष्ट्रपति पौडेल शीतलनिवासबाट पानीपोखरी, हात्तीसार, केशरमहल हुँदै सैनिक मञ्चमा पुगेका थिए । रुटआसपासका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सर्वसाधारणलाई सडकमा आउजाउ गर्न रोक लगाइएको थियो । सडकमा सावरीसाधन गुड्न बन्द गरिएका थिए । मंगलबार सार्वजनिक बिदा भएको हुँदा सडक किनारमा सर्वसाधारणको सहभागिता भने कम देखिन्थ्यो । 

राष्ट्रपति पौडेलको प्रेससमेत हेर्दै आएका स्वकीय उपसचिव खिला कार्कीले राष्ट्रपति पौडेलको सवारी पुरानै कार्यविधिअनुसार चलाइएको जानकारी दिए । नयाँ कार्यविधि कार्यान्वयनमा आइनसकेको हुँदा सवारी पुरानै कार्यविधिअनुसार चलाइएको उनको भनाइ छ । ‘मंगलबार राष्ट्रपति सैनिक मञ्चमा आयोजित घोडेजात्रामा सहभागी हुने कार्यक्रम थियो । औपचारिक किसिमको कार्यक्रम भएकाले उहाँको सवारी पनि औपचारिक ढंगले नै सञ्चालन भयो । नयाँ कार्यविधि कार्यान्वयनमा आइसकेको छैन । उहाँको सवारी पुरानै कार्यविधिअनुसार चलाइएको छ,’ उनले भने । राष्ट्रपति पदको शपथपछि पौडेलको पहिलो औपचारिक सवारी पशुपतिनाथ मन्दिर दर्शनका लागि सञ्चालन गरिएको थियो । सडक खाली गराइएपछि सवारीको सम्बन्धमा सर्वसाधारणबाट व्यापक आलोचना भएको थियो । त्यसलगत्तै वसन्तपुरस्थित कुमारीघरको दर्शनका लागि चलाइएको सवारीमा भने सडक खाली गराइएको थिएन । न सवारीमा मोटरसाइकलको ‘कारकेड’ नै प्रयोग गरिएको थियो । 

विशिष्ट व्यक्तिको सवारीका क्रममा सर्वसाधारणले दुःख पाउन थालेपछि सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि– ०७७’ परिमार्जन अन्तिम चरणमा पुर्‍याएको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि कार्यविधि कार्यान्वयनमा आउनेछ । त्यसपछि भने भिभिआइपीको सवारीमा सडक पूर्ण रूपमा खाली गराइनेछैन । गृह मन्त्रालयका अनुसार कार्यविधिमा विशेष गरी विशिष्ट व्यक्तिको राजकीय, औपचारिक र कार्यालयीय सवारीलाई परिमार्जन गरिएका छन् । परिमार्जित कार्यविधिअनुसार अब राजकीय, औपचारिक र कार्यालयीय सवारीमा सडक खाली गरिँदैन । सडकको आवागमन अवरुद्ध गरिँदैन । । ‘कारकेड’मा मोटरसाइकल र गाडीका लावालस्कर हुनेछैनन् । तर, सवारी हुने रुटमा सुरक्षा व्यवस्था भने कडा तुल्याइनेछ । सवारी हुने रुटमा देखिनेभन्दा पनि नदेखिने सुरक्षाकर्मी ज्यादा परिचालन हुनेछन् ।