१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्ची खानेपानी आयोजनाले थाल्यो २४ घन्टे अन्तिम परीक्षण

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:oo:oo

क्लोरिनको मात्रा धेरै हुने भएकाले परीक्षण अवधिमा पानी प्रयोग नगर्न आग्रह  

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले जडान गरेका खानेपानी पाइपलाइनको अन्तिम परीक्षण सुरु गरेको छ । हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को पाइपलाइन प्रयोग गर्दै आएको पिआइडीले परीक्षणपछि आफ्नै पाइपलाइनबाट पानी पठाउनेछ । यसैका लागि अन्तिमपटक अर्थात् आजदेखि २४ घन्टे परीक्षण थालिएको हो । 

पिआइडीका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाका अनुसार विभिन्न क्षेत्र तोकेर अन्तिम परीक्षण सुरु भएको छ । जुन–जुन क्षेत्रमा अन्तिम परीक्षण गरिने हो, त्यस क्षेत्रमा सूचना पनि जारी गरेको छ । हालसम्म नयाँ बानेश्वर, सिनामंगल, कोटेश्वर, अनामनगरलगायत क्षेत्रमा अन्तिम परीक्षण भइसकेको छ । सबैतिर अन्तिम परीक्षण आवश्यक रहेकाले मंगलबारदेखि तिनकुने, खुसिबु, नयाँ बानेश्वर, कागत्यानी, सिनामंगल, ललितपुरको पाटन क्षेत्रमा गर्न लागिएको हो । यी क्षेत्रमा मंगलबार पुरानो तथा नयाँ पाइपलाइनबाट आएको पानी प्रयोग नगर्न पिआइडीले आग्रह गरेको छ ।

यसैगरी, क्रमशः सूचना जारी गर्दै सबै क्षेत्रमा अन्तिम परीक्षण गरिनेछ । ‘मेलम्चीले पाइप बिछ्याएको धेरै भयो, पाइप लिकेज थाहा पाउन र पाइपभित्र हुने किरा तथा ब्याक्टेरिया मार्न परीक्षण आवश्यक भएको हो,’ सापकोटाले भने, ‘नयाँ तथा केयुकेएलका ट्यांकी प्रयोग गरेर पाइपलाइनमा पानी पठाउँछौँ, परीक्षणका लागि पठाएको पानीमा क्लोरिनको मात्रा धेरै हुन्छ ।’ उनले मेलम्चीकै पानी भए पनि हालसम्म अधिकांश ठाउँमा केयुकेएलकै पाइपलाइनबाट पानी वितरण भइरहेकाले यस्तो परीक्षण गर्दा नियमित पानी वितरणमा कुनै असर नपर्ने बताए । तर, कतिपय क्षेत्रमा परीक्षण गर्दा एउटै ट्यांकी प्रयोग हुने भएकाले परीक्षण अवधिको पानी सकेसम्म २४ घन्टा प्रयोग नगर्दा राम्रो हुने सापकोटाको भनाइ छ । 

मेलम्ची अयोजनाबाट अहिले दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित वितरण ट्यांकीमा खस्छ । पछिल्लोपटक २३ मंसिरमा मेलम्चीको पानी उपत्यका झरेको थियो । पानी वितरणका लागि उपत्यकामा १० वटा ७४ हजार घनमिटरका ट्यांकी निर्माण गरिएका छन् । सबैजसो ट्यांकी परीक्षण भइसकेको जनाइएको छ । काठमाडौंको महाँकाल, बाँसबारी, पानीपोखरी, बालाजु, कीर्तिपुर, बानेश्वर, अनामनगर, ललितपुरको खुमलटार, भक्तपुरको कटुन्जेलगायत ठाउँमा करिब ८०–८० लाख लिटर पानी अट्ने नयाँ ट्यांकी निर्माण गरिएको छ । यसबाहेक पुराना ट्यांकी पनि पानी वितरणका लागि प्रयोग भइरहेका छन् । मेलम्चीको पानी नयाँ–पुराना सबै ट्यांकीमा खसालिएको छ । सो ट्यांकीबाट हाल नयाँ तालिकासहित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानी वितरण गर्दै आइरहेको छ । 

कसरी हुन्छ परीक्षण ?
परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाले नयाँ पाइपलाइनबाट क्लोरिनमिश्रित पानी पठाउँछ । यसमा क्लोरिनको मात्रा धेरै हुने भएकाले प्रयोग गर्न भने मिल्दैन । पाइपमा भएका ब्याक्टेरिया वा किरा मार्नका लागि क्लोरिन धेरै मिसाएर वितरण गर्ने गरिन्छ । यो पानी पिउन तथा अन्य प्रयोजनमा समेत प्रयोग नगर्न पिआइडीले आग्रह गरेको छ । परीक्षण गरिएका क्षेत्रमा २४ घन्टासम्म पानी वितरण हुनेछ । 

मेलम्ची खानेपानी आयोजनाले उपत्यकाभित्र ९० हजार घरमा ९० हजार धारा जडानको लक्ष्य लिएको थियो । त्यसमध्ये अधिकांश ठाउँमा पाइपलाइन बिछ्याउने काम सम्पन्न भए पनि २० हजार धारा मात्रै जडान भएको छ । बाँकी ७० हजार धारा अन्तिम परीक्षणपछि जडान हुनेछन् । 

कतिपय क्षेत्रमा बल्ल पाइप बिछ्याइँदै 
मेलम्ची खानेपानी आयोजना चक्रपथभित्र मात्रै सीमित छ । यसभित्र पनि केही मुख्य ठाउँमा बल्ल पाइपलाइन बिछ्याउने काम भइरहेको छ । कलंकी, महाराजगन्ज, बालुवाटार, धुम्बाराही, बाँसबारीलगायत ठाउँमा पाँच सय किमि पाइप बिछ्याउने कार्य भइरहेको छ । वैशाखसम्म यी क्षेत्रमा पाइपलाइन बिछ्याइसक्ने लक्ष्य छ । 

पानी वितरण गर्दा पाइप फुट्यो 
मेलम्ची खानेपानी आयोजनाले उपत्यकाका अधिकांश स्थानमा केयुकेएलकै पुरानो पाइपलाइनबाट पानी वितरण गरिरहेको छ । पुरानो पाइपले धेरै भार थेग्न नसक्दा अधिकांश ठाउँमा चुहावट भइरहेको छ । तर, कोटेश्वर, नयाँ बानेश्वर, अनामनगर, सिनामंगललगायत सीमित ठाउँमा भने मेलम्चीको नयाँ पाइपलाइनबाट पानी वितरण भएको छ । अन्तिम परीक्षणपछि भने सबैतिर नयाँ पाइपलाइनबाट पानी वितरण सुरु हुनेछ । त्यसपछि चुहावटको समस्या नहुने पिआइडीको दाबी छ । 

ad
ad