१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एउटै पालिकामा एकैदिन मन्त्रालयले खटायो दुई प्रशासकीय अधिकृत

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१५:oo

आधिकारिकताको विवादले कामकाज प्रभावित

सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एकैदिन दुई प्रशासकीय अधिकृतलाई खटाएपछि आधिकारिकताको विवादले कामकाज नै प्रभावित भएको छ । दुवै अधिकृत फरक–फरक सरुवा चिठी लिएर गाउँपालिका पुगेका हुन् । 

१४ फागुनमा मन्त्रालयले दिएको चलानी नम्बर १२६९ को पत्र बोकेर अशोककुमार सिंह प्रमुख प्रशासकीय अधिकृतको रूपमा आए । उनले गाउँपालिका उपाध्यक्ष, कार्यपालिका सदस्य, वडाध्यक्षहरूको उपस्थितिमा १६ फागुनमा हाजिर गरे । आफू हाजिर भएको जानकारी अधिकृत सिंहले सोही दिन च.नं.१ ‘क’ को पत्रमार्फत मन्त्रालयका सचिवलाई जानकारी गराएको उपाध्यक्ष ममताकुमारी यादवले जानकारी दिइन् ।

तर, सिंह मन्त्रालयको सरुवा चिठीसहित गाउँपालिका आएर हाजिर भइसकेको अवस्थामा १४ फागुनकै चलानी नम्बर १३४० को पत्रसहित प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुजितकुमार यादव २९ फागुनमा गाउँपालिकामा हाजिर भएपछि विवाद चुलिएको छ । 

मन्त्रालयले नै दुईजना खटाएपछि आधिकारिकताको अन्योल बढ्यो : ममताकुमारी यादव, उपाध्यक्ष, बरियारपट्टी गाउँपालिका, सिराहा
एउटा गाउँपालिकामा एउटै मन्त्रालयबाट एकैदिन दुई प्रशासकीय अधिकृतलाई कसरी कामकाज गर्न खटाइयो, गाउँकार्यपालिका आश्चर्यमा परेको छ । एउटा अधिकृत हाजिर भएको १३ दिनपछि अर्को अधिकृत आएर सुटुक्क हाजिर भएपछि झन् आधिकारिकताको अन्योल बढेको छ । त्यसको निक्र्योल तत्काल सम्बन्धित मन्त्रालयले गरिदिनुपर्छ ।

‘एउटा गाउँपालिकामा एउटै मन्त्रालयबाट एकैदिन दुई प्रशासकीय अधिकृतलाई कसरी कामकाज गर्न खटाइयो, गाउँकार्यपालिका आश्चर्यमा परेको छ,’ उपाध्यक्ष यादवले भनिन् । १६ फागुनमा हाजिर भएका अधिकृत सिंहलाई उपाध्यक्ष यादव तथा २९ फागुनमा हाजिर भएका यादवलाई अध्यक्ष सन्तोषकुमार महतोले साथ दिएपछि त्यसको मारमा सेवाग्राही परेको स्थानीय बासिन्दा बताउँछन् । 

उपाध्यक्ष यादवले एउटै पदमा दुई प्रमुख प्रशासकीय अधिकृत आउँदा जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही अन्योलमा परेको बताइन् । ‘एउटा अधिकृत हाजिर भएको १३ दिनपछि अर्को अधिकृत आएर सुटुक्क हाजिर भएपछि झन् आधिकारिकताको अन्योल बढेको छ,’ आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले भनिन्, ‘त्यसको निक्र्योल तत्काल सम्बन्धित मन्त्रालयले गरिदिनुपर्छ ।’ उनका अनुसार मधेस प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा गराएर आएका सिंहपछि अर्का अधिकृत पनि आए, तर दैनिक कामकाज प्रभावित हुँदा त्यसको मार सेवाग्राहीले खेप्नुपरेको छ । प्रमुख प्रशासकीय अधिकृतको आधिकारिकताको विवाद भए पनि गाउँपालिकाको वेबसाइटमा भने प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुजितको नाम र तस्बिर राखिएको छ । 

गाउँ कार्यपालिकाको प्रमुखसमेत रहेका गाउँपालिका अध्यक्ष महतोले भने बहुमतको आडमा उपाध्यक्ष तथा कार्यपालिका सदस्यले यसअघि विवाद भएपछि सरुवा गराएर गएका अधिकृत सिंहलाई ल्याउने विषयमा आफूलाई एकपल्ट पनि नसोधिएको गुनासो गरे । १८ चैत ०७५ मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका सिंह २७ भदौ ०७७ मा सरुवा लिएर अन्यत्र गएका थिए । त्यतिवेला उपभोक्ता समितिमार्फत भएका विकास निर्माणसम्बन्धी कामको भुक्तानी रोकेको, गाउँपालिकाको आफ्नै चारपांग्रे गाडी हुँदाहुँदै भाडाको गाडी प्रयोग गरेको, विकास निर्माणसम्बन्धी कामको कमिसन नमिल्नेहरूको फाइल नै गरिदिने गरेको भन्दै सिंहमाथि आरोप लागेपछि अध्यक्षसँग लफडा भएको स्थानीय बताउँछन् । 

‘त्यो विवाद भएपछि सरुवा गराएर गएका व्यक्तिलाई पुनः ल्याउँदा गाउँकार्यपालिकाको प्रमुखको हैसियतमा भए पनि एकपल्टसम्म सोधिएन,’ महतोले भने, ‘१४ फागुनकै मितिमा मन्त्रालयको सरुवा चिठ्ठी लिएर आएका यादवलाई २९ फागुनमा हाजिर गराएपछि केही योजनाको सम्झौता पनि भइसकेको छ । आधिकारिकताको विवाद नै होइन । सिंहको सरुवा बदर भई पुनः साबिककै ठाउँमा खटाइएको सुनेको छु ।’ 

जनता समाजवादी पार्टीबाट दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष महतो गाउँकार्यपालिकामा एक्लो छन् । गाउँकार्यपालिकामा उपाध्यक्ष, वडाध्यक्षसहित कांग्रेसका १०, माओवादी केन्द्रका दुई र जसपाको एकजना मात्र सदस्य छन् । ‘बहुमतको आडमा करार सेवाअन्तर्गत रहेका ७२ जना कर्मचारी हटाइयो, कम्तीमा पुराना, अनुभवी कर्मचारीलाई राखेर अन्यलाई हटाऔँ भन्दा मानेनन्,’ महतोले भने, ‘अहिले गाउँपालिका, वडा कार्यालयको काम प्रभावित भइरहेको छ, त्यो पनि सहेँ, तर प्रशासकीय अधिकृत ल्याउँदा मसँग कम्तीमा एकपल्टसम्म सल्लाह गर्नुपर्ने थियो ।’ 
 

ad
ad