लामो अन्तरालपछि स्ववियु निर्वाचन सम्पन्न भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
यसलाई दुइटा कोणबाट हेर्न सकिन्छ । पहिलो, प्रतिस्पर्धात्मक राजनीतिमा विद्यार्थी सहभागी हुनु सकारात्मक छ । दोस्रो, अबका दिनमा नयाँ भूमिकाको खोजी नगर्ने हो भने यसको खास अर्थ छैन ।
अहिलेको विद्यार्थी राजनीति कता गइरहेको देख्नुहुन्छ ?
हिजो पञ्चायती शासनकालमा विद्यार्थी राजनीति आमजनताको भरोसाको केन्द्र बनेको थियो । यो आन्दोलन मूल्यको जगमा अडिएको थियो । तर, जब ०४६ को जनआन्दोलनसँगै राजनीतिक दलहरू सार्वजनिक भएर सिंहदरबार पसे, विद्यार्थी राजनीति पनि उनीहरूसँगै सिंहदरबार पस्यो । उसले आफ्नो प्रतिपक्षीय चरित्र गुमायो । अनि, हिजोको गौरवपूर्ण विद्यार्थी आजको दिनमा आइपुग्दा राजनीति स्खलित भयो ।
अहिलेको विद्यार्थी राजनीतिलाई बचाउन के गर्नुपर्ला त ?
म धेरै आशावादी छैनँ । यतिखेर विद्यार्थी संगठनहरू छन्, तर विद्यार्थी राजनीति छैन । विद्यार्थी राजनीति जहिल्यै प्रतिपक्षी चरित्रको हुनुपर्छ । कांग्रेस सत्तामा हुँदा नेविसंघ, एमाले सत्तामा हुँदा अनेरास्ववियु, माओवादी सत्तामा हुँदा अनेरास्ववियु (क्रान्तिकारी) लगायत विद्यार्थी संगठन प्रतिपक्षीय भूमिकामा उभिनुपर्छ ।
सरकारले राम्रा काम गर्दा समर्थन गरेर त्यसलाई तल्लो तहसम्म लाने र सरकारले गलत गर्दा खुलेर खबरदारी गर्ने हिम्मत गर्ने हो भने मात्र विद्यार्थी राजनीतिको साख जोगिन सक्छ । विद्यार्थी राजनीतिको वर्तमान नेतृत्वले आत्मनिरीक्षण गरेर अघि बढ्न सक्यो भने आशा गर्न सकिएला तर अहिले त्यस्तो परिदृश्य कहीँकतै देखिन्न ।