
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात् गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
कुनै एक दलको प्रतिनिधिसभामा बहुमत पुग्ने अवस्था नभएकाले आफूहरूले गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नुपरेको उनको तर्क थियो।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले राजनीतिक गठबन्धनहरू आत्मकेन्द्रित, स्वार्थप्रेरित र क्षणिक लाभका लागि नभई देश, जनताकाे पक्षमा र संविधानको रक्षा गर्दै मुलुकको स्थिरता, विकास र शान्तिका लागि केन्द्रित हुनुपर्ने स्पष्ट पारे।
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै मुलुकमा विकास र समृद्धिको कामलाई अघि बढाउन आफ्नो पार्टीले यसअघि पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए।
उनले भने, ‘यो प्रणालीमा कुनै एक दलको मात्र प्रतिनिधिसभामा बहुमत ल्याउन सक्ने अवस्था प्रायः नहुने भएकाले गठबन्धनको संस्कृतिलाई आत्मासात् गर्नुपरेको छ। राजनीतिक गठबन्धनहरू आत्मकेन्द्रित, स्वार्थप्रेरित, क्षणिक लाभका लागि हुनुहुँदैन।’
सभापति देउवाले २१ महिनाअघि आफूले संविधानको रक्षा गर्दै त्यसको सफल कार्यान्वयनका लागि सरकारको नेतृत्व लिनुपरेको र सो कार्य सफलतापूर्वक सम्पन्न गरेको दाबीसमेत गरे।