
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन् ।
सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री बनेको भोलिपल्टबाटै इमान बिर्सिएर प्रचण्ड अस्थिरतातर्फ गएको उनको आरोप छ ।
मित्रराष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री नै रहेको भन्दै ओलीले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पारे । ‘गठबन्धनका स्वार्थीहरूले भोट देलान्, तर हामीलाई स्वार्थ छैन । त्यसैले प्रधानमन्त्रीमाथि संसद्को विश्वास छ भन्न सकिँदैन । जित्ने–हार्ने छुट्टै कुरा हो, स्वार्थको खेल हो,’ उनले भने ।