
अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा आइएमई मोटर्सका सिइओ हेमन्त पुराणिक र बैंकका डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अशोक लेल्यान्डका देशभर रहेका १७ सोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफरअन्तर्गतको सुविधा प्राप्त गर्न सक्ने उल्लेख छ । ग्राहकको चाहनाअनुसार अशोक लेल्यान्डका सवारीसाधन किन्नका लागि बैंकले अधिकतम सात वर्षसम्मका लागि करिब १४ प्रतिशतसम्मको ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउने जनाइएको छ ।
कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने भए तापनि नेपाल राष्ट्र बैंकको नीति, निर्देशनअन्तर्गत रहेर मात्र कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।
प्युजो र सिट्रोन गाडी किन्नेलाई पनि कर्जा
प्युजो र सिट्रोन ब्रान्डका गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले बिक्री गर्दै आएका गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रिला मोटर्सबीच प्युजो र सिट्रोनका गाडीहरूमा खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्ने सम्झौता भएको हो ।
सम्झौतामा बैंकका उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्सका सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार प्युजो र सिट्रोनले उत्पादन गरेका गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने जनाइएको छ ।
यो कर्जा एभरेष्ट बैंकका सबै शाखाबाट सुलभ र सहज तरिकाले उपलब्ध हुने बैंकले जनाएको छ । हाल एभरेष्ट बैंकका देशभर रहेका एक सय २४ शाखाबाट नै कर्जा सुविधा लिन सक्ने जनाइएको छ ।