मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सौरभ यादव राजविराज
२०७९ चैत ६ सोमबार ०६:५३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मलेसियामा अलपत्र ५६ नेपाली श्रमिकले क्षतिपूर्तिसहित पाए रोजगारी

रौतहट चन्द्रनिगाहपुरका रोशन पासवानले खुसी साटे काम पनि पाइयो, क्षतिपूर्ति पनि दियो

Read Time : > 2 मिनेट
सौरभ यादव, राजविराज
२०७९ चैत ६ सोमबार ०६:५३:००

साढे दुई महिनादेखि मलेसियामा अलपत्र सप्तरी र रौतहटका ५६ नेपाली श्रमिकले रोजगारी पाएका छन् । मलेसियास्थित नेपाली दूतावास, उनीहरूलाई मलेसिया पठाउने कम्पनी भण्डारी ओभरसिज र रोजगारप्रदायक कम्पनी एडिके सोलुसन कम्पनीबीच आइतबार भएको छलफलले पूर्वसहमतिअनुसार नै सबैलाई विमानस्थलको कार्गोमा रोजगारी दिने सहमति गरेको हो । 

एडिके कम्पनीले विमानस्थलको कार्गोमा ५६ जनालाई २३ मार्च (९ चैत)देखि रोजगारी दिने प्रतिबद्धता जनाएको सप्तरीको राजगढ गाउँपालिका– ३ घर भई हाल मलेसियामा रहेका उमेश मण्डलले जानकारी दिए । त्यस्तै, आफूहरू सबैलाई क्षतिपूर्तिबापत प्रतिव्यक्ति तीन हजार रिंगेट दिने सहमतिसमेत भएकोमा एक हजार पाँच सय रिंगेट आइतबार नै प्राप्त गरेको उनले बताए । बाँकी एक हजार पाँच सय शुक्रबार दिने भनेको पनि मण्डलले बताए ।

 भण्डारी ओभरसिजलाई जनही चार लाखका दरले बुझाएका ५६ युवा मलेसिया पुगेपछि सम्बन्धित कम्पनीले काम नदिँदा अलपत्र परेको भन्दै शनिबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । शनिबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवायलये परराष्ट्र मन्त्रालय, मलेसियास्थित नेपाली दूतावास र वैदेशिक रोजगार विभागसँग जानकारी मागेको थियो । त्यसलगत्तै मलेसियास्थित दूतावास सक्रिय भएको थियो । 

अब विमानस्थलको कार्गोमा लगेज लोड–अनलोड गर्ने उनीहरूले दैनिक १२ घन्टाका दरले महिनामा २६ दिन काम गर्नेछन् । कम्पनी र कामदारबीच दुईवर्षे सम्झौता भएको छ । मासिक दुई हजार तीन सय ४६ रिंगेट पारिश्रमिक दिने भनेको मण्डलले बताए । 

श्रमिकलाई चित्त नबुझे १५ दिनभित्र स्वदेश ल्याउँछौँ
उमाकान्त आचार्य महानिर्देशक, वैदेशिक रोजगार विभाग

मलेसिया जाने वेला भएको सम्झौताअनुसार विमानस्थलको कार्गोमा जागिर दिने सहमति बनेको छ । अलपत्र परेको अवधिको तलब पनि दिने भएपछि उनीहरू काम गर्न तयार भएका छन् । अहिलेको सम्झौताअनुसार श्रमिकलाई चित्त नबुझे १५ दिनभित्र नेपाल ल्याउँछौँ । १५ जना श्रमिकको आइडी नै नबनाएको र विमानस्थल संवेदनशील क्षेत्र भएकाले आइडीविना काम लगाउन नसकिने भएकाले उनीहरू अलपत्र परेको भन्ने पनि आयो । जे होस्, उनीहरूले सम्झौताअनुसार रोजगारी पाएर खुसी रहे भने किन फर्काउनुपर्‍यो ? यद्यपि, सम्झौताअनुसार नभए उनीहरूलाई फिर्ता ल्याउन लगाउँछौँ । 

रोजगारीमा लगाउने सहमति 
कार्यान्वयन नभए १५ दिनभित्र स्वदेश झिकाउने विभागको निष्कर्ष

मलेसियामा अलपत्र श्रमिकलाई पूर्वसम्झौताअनुसार विमानस्थलको कार्गोमै रोजगारी दिने सहमति बन्दा काठमाडौंमा वैदेशिक रोजगार विभागले भने उक्त सहमति कार्यान्वयन नभए १५ दिनभित्र स्वदेश झिकाउने निर्णय गरेको छ । आइतबार म्यानपावर कम्पनी भण्डारी ओभरसिजका प्रतिनिधिसँग छलफल गरेको विभागले सहमतिअनुसार नभए १५ दिनभित्र स्वदेश ल्याउने प्रतिबद्धता गराएको हो । 

‘श्रमिकका मागअनुसार सम्झौता भएपछि उनीहरू नै काम गर्न तयार भएपछि काम गर्न दिऊँ भन्ने भयो । तर, फेरि समस्या देखियो भने स्वदेश झिकाउँछौँ भन्ने प्रतिबद्धता पनि भएको छ,’ वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले भने । हाल भण्डारी ओभरसिजका प्रबन्ध–निर्देशक माधव भण्डारी पनि मलेसियामै छन् । भण्डारी, वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकाल र रोजगार विभागका प्रतिनिधिबीच टेलिफोनमा कुराकानीसमेत भएको आचार्यले बताए ।

रौतहट चन्द्रनिगाहपुरका रोशन पासवानले खुसी साटे : काम पनि पाइयो, क्षतिपूर्ति पनि दियो
साढे दुई महिनासम्म काम नपाएपछि घर फर्किनुपर्ला कि भन्ने डर थियो । किनभने यहाँ आउँदा ऋण काढेको चार लाख खर्च भएको छ । रित्तोहात घर फर्किँदा जिन्दगी ऋणमा डुब्ने अवस्था हुन सक्थ्यो । तर, अब कम्पनीले काम दिने भएपछि खुसी लागेको छ ।

विमानस्थलको कार्गोमा सामान लोड–अनलोड गर्ने काम दिएको हो । हामी सबै ५६ जनाले नै यही काम पाएका छौँ । बिहीबारदेखि काममा जान्छौँ । हालसम्मको क्षतिपूर्तिबापत कम्पनीले प्रतिव्यक्ति तीन हजार रिंगेट दिने प्रतिबद्धता जनाएअनुसार आइतबार नै १५ सय रिंगेट दिएको छ । बाँकी १५ सय रिंगेट शुक्रबार दिने भनेको छ । घरमा आमाबुबासँग पनि कुरा भयो । काम पाएको खबर सुनेर उहाँहरू खुसी हुनुभएको छ । अब त ऋण तिरिएला, परिवार पाल्न केही पैसा कमाइएला भन्ने आस छ ।