
नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
शुक्रबार पत्रकारहरूसँगको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । महासंघले उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेको छ ।
न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै महासंघका महासचिव रोशन पुरीले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप गराउने आधारहीन, तथ्यहीन र अशोभनीय कुरा सभामुख घिमिरेले गरेकाले त्यसको विरोध गर्नुपरेको बताए ।
सभामुखजस्तो पदमा रहेर प्रेस स्वतन्त्रताको भावनाविपरीत अत्यन्तै अशोभनीय ढंगले पत्रकारहरूमाथि आक्षेप लगाउनु अशोभनीय र अमर्यादित काम भएको उनको स्पष्ट पारे । महासचिव पुरीले समाजका सबै क्षेत्रमा कमीकमजोरी रहेकाले त्यसलाई सच्याउन सकारात्मक ढंगले पहलकदमी अघि बढाउनुपर्ने बताए ।