मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ४ शनिबार ०८:२८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अञ्जन ६ हप्ता मैदानबाहिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ४ शनिबार ०८:२८:००

नेपाल राष्ट्रिय फुटबल टोलीका अञ्जन विष्ट ६ साता मैदानबाहिर हुने भएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाको प्रतिस्पर्धामा अञ्जन घाइते भएका थिए । घाइतेका कारण नै अञ्जनले मच्छिन्द्र फुटबल क्लबविरुद्ध चर्च ब्वाइजबाट प्रतिस्पर्धा गर्न पाएनन् । मच्छिन्द्र र चर्च ब्वाइजले शुक्रबारको खेलमा गोलरहित बराबरी खेले । 

चर्च ब्वाइजले डाक्टरको सल्लाहअनुसार अञ्जनलाई ६ साता मैदानबाहिर राख्ने जनाएको छ । चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले अञ्जनको दाइने गालाको हड्डी फुटेको जानकारी दिएका छन् । चोटसँगै अञ्जनले घरेलु मैदानमा हुने भुटान र लाओससहितको त्रिकोणात्मक फुटबल प्रतियोगिता गुमाउने सम्भावना बढेको छ । नेपालले ८ चैतमा लाओस र १४ चैतमा भुटानसँग खेल्ने तालिका छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाले चोटका कारण अञ्जनले प्रशिक्षणसमेत गुमाउने संकेत गरेका छन् । 

डाक्टरको सल्लाहअनुसार आफूलाई १० दिन आराम गर्न भनिएको अञ्जनले बताए । ‘अहिले १० दिनलाई हेर्न भनिएको छ । त्यसपछि ठीक भएन भने ६ साता कुर्नुपर्छ,’ अञ्जनले नयाँ पत्रिकासँग भने । अञ्जनले हालसम्म राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन् । हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमान तोड्ने संघारमा उनी छन् । 

‘बी’ डिभिजन लिग सुनिश्चित गर्न माग
सहिद स्मारक ‘बी’ डिभिजन लिगका १४ मध्ये १३ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फालाई लिग सुनिश्चित गर्न माग गरेका छन् । ‘बी’ डिभिजन लिग २९ चैतमा हुने भनिएको छ । ‘एन्फाले लिग आयोजनाका लागि कुनै तयारी नै गरेको छैन । ‘यातायातदेखि आवास र पारिश्रममा धेरै खर्च भएको छ, तर एन्फा उदासीन हुँदा लिग हुने या नहुने टुंगो लागेको छैन,’ सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले भने । ‘हामीले वाचा गरिएअनुसार तयारी खर्च पनि पाएका छैनौँ,’ उनले थपे । लिग चैत २९ गतेबाट गर्ने एन्फाले जनाएको छ । 

एन्फाले क्लबसँग सहमतिमा लिग सुरु हुन ४५ दिनअघि नै १४ लाख ५० हजारमध्ये पहिलो किस्ताको आठ लाख ७० हजार रुपैयाँ निकासा गर्ने भन्ने थियो । हालसम्म सो किस्ता आफूहरूले नपाएकोे क्लबका पदाधिकारीले बताए । ‘हामीले बारम्बार एन्फालाई ध्यानाकर्षण गराएका छाैँ । तर, रकम प्राप्त भएको छैन,’ रानीपोखरी कर्नर टिम आरसिटीका प्रतिनिधि कुमार राजभण्डारीले भने ।