
यसै सिजन बढुवा हुँदै स्टार खेलाडीलाई अनुवन्ध गरेको चर्च ब्वाईज युनाईटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लवले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
च्यासल मैदानमा भएको खेलमा स्टार खेलाडीले भरिएको चर्च ब्वाईजले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा डिफेन्डिङ च्याम्प्यिनसँग अंक बाँड्न बाध्य भएको हो । स्पष्ट अंक निकाल्ने रणनीतिका साथ आक्रामक फुटबल खेलेका दुवै टोली अग्रपंक्तिमा चुकेका थिए ।
आजको बराबरीसँगै चर्च ब्वाइजले पाँच खेलमा ११ अंक जोड्दा मच्छिन्द्रको समान खेलबाट पाँच अंक भएको छ । मच्छिन्द्रले नवप्रवेशीसँग अंक खोस्न असफल हुँदा तालिकामा अगाडि चढ्न कठिन भएको छ ।
प्रतिष्पर्धात्मक बनेको खेलमा ११औं मिनेटमा चर्च ब्वाईजले पहिलो अवसर खेर फाल्न पुगेको थियो । आशिष चौधरीले प्रहार गरेको बल पोस्ट बारमा लाग्दै बाहिरिएको थियो । २७औं मिनेटमा आशिष चौधरीले उपलब्ध गराएको पासमा आशिष चापागाईं पेनाल्टी क्षेत्रमा चुके । खेलको ३१औं मिनेटमा मछिन्द्रका उत्सव राईको प्रहार सेकेन्ड बार नजिकैबाट चर्च ब्वाइजका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे ।
खेलको ४०औं मिनेटमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठको कर्नर प्रहारमा देवेन्द्र तामाङको टार्गेटले सही दिशा लिन सकेन । ४२औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि मच्छिन्द्र १० खेलाडीमा समेटिएको थियो । पुजनले चर्च ब्वाईजका जोसेफ बेम्पालाई कुहिनोले प्रहार गरेपछि रेफ्री नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।
दोस्रो हाफमा १० खेलाडीमा समेटिएको मच्छिन्द्रले दर्जनौं प्रयास गरेपनि गोल गर्न असफल रह्यो । ५५औं मिनेटमा आशिष चौधरीको पेनाल्टी बक्सभित्रको प्रहार फितलो रह्यो । बाँकी समयमा मच्छिन्द्र रक्षात्मक खेल्दा चर्च ब्वाईजको आक्रामक रणनीति विफल रह्यो र खेल गोलरहित बराबरीमा टुंगियो ।