
लमजुङको राइनास नगरपालिकालाई तीन वर्षमा बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । नगरपालिकाले तीन वर्षमा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गरी ०८२ फागुन मसान्तसम्म बालमैत्री नगर घोषणा गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले कार्यविधि निर्माण गरी ११औँ नगरसभाबाट पारितसमेत गरिसकेको छ । स्थानीय बाल समिति गठन तथा सञ्चालनसम्बन्धी कार्यविधि २०८० पारित गरिएको नगरप्रमुख खड्गबहादुर गुरुङले बताए ।
१० वटा वडा रहेको राइनास नगरपालिकाका सबै वडामा बालमैत्री स्थानीय शासनका आवश्यक सूचक पूरा गरी प्रत्येक वडा र नगरलाई बालमैत्री घोषणा गर्न नगर सभामा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले प्रतिबद्धता जनाएका हुन् ।
नगरपालिकालाई बालमैत्री बनाउने सम्बन्धमा चालू आर्थिक वर्षबाट आवश्यक पूर्वाधार तथा कार्यविधि निर्माणसँगै अभिमुखीकरणका काम थालेको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराजले बताए।
नगरपालिकाले यसअघि नगरस्तरीय बाल क्लब सञ्जल गठनसँगै स्थानीय बालमैत्री शासन सञ्चालन प्रक्रियासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिसकेको उनको भनाइ छ ।