
कारागारका सुरक्षा इन्चार्जले कैदी पवन यादवलाई घुमाइरहेका वेला मोटरसाइकल दुर्घटना
कानुनतः प्रशासनको प्रत्यक्ष निगरानी र सुरक्षाविना कैदीबन्दी बाहिर निस्कन पाउँदैनन् । तर, जिल्ला कारागार गौरमा ब्राउनसुगर कारोबारको मुद्दाका दोषी रहेका चौकीदार पवन यादव खुलेआम बाहिर घुम्ने गरेका छन् ।
जेलर शम्भु यादवको प्रत्यक्ष संरक्षणमा पवन खुलेआम घुम्ने गरेका छन् । ब्राउनसुगर कारोबार मुद्दामा १५ वर्ष कैद सजाय पाएका उनी २४ फागुनमा कारागारका सुरक्षा इन्चार्ज, प्रहरी नायव निरीक्षक तेजीलाल यादवको मोटरसाइकलमा चढेर आफ्नो घर बारा निस्किएका थिए ।
तर, रौतहटको परोहा नगरपालिका– ४ लौकाहामा मोटरसाइकल दुर्घटनामा परेपछि घटना बाहिरिएको हो । घाइते पवनको वीरगन्जमा रहेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ । गौर कारागारका जेलर शम्भुले आफूलाई समेत थाहा नदिई प्रहरी नायव निरीक्षक तेजीलालले सुटुक्क लिएर गएको अवस्थामा दुर्घटना भएको जिकिर गरे । ब्राउनसुगर कारोबारको मुद्दामा जिल्ला अदालत गौरले १५ वर्ष जेल र पाँच लाख जरिवानासहितको सजाय सुनाएपछि पवन कारागार पुगेका थिए । उनी १३ वर्षदेखि कैदी जीवन बिताइरहेका थिए ।
घटना बाहिरिएपछि कारागार पुगेका सञ्चारकर्मीसँग कैदीबन्दीले चौकीदार र जेलरका कारण आफूहरू असुरक्षित रहेको बताएका थिए । चौकीदार पवनले कैदीबन्दीलाई यातना दिने, असभ्य र अमर्यादित शब्दको प्रयोग गर्ने गरेको एक महिला कैदीले बताइन् ।
छानबिन गर्न सिडिओको संयोजकत्वमा समिति
चौकीदार पवन यादव खुलेआम बाहिर गएको विषयमा छानबिन गर्न रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र झाको संयोजकत्वमा समिति गठन भएको छ । पाँच सदस्यीय समितिले छानबिन सुरु गरेको छ । प्रजिअ झाले केही दिनै घटनाको सत्यतथ्य सार्वजनिक हुने बताए ।
कारागारका सुरक्षा इन्चार्ज यादव तानिए
कैदी चौकीदारलाई आफ्नो मोटरसाइकलमा राखेर घुमाउने गौर कारागारका सुरक्षा इन्चार्ज, प्रहरी नायव निरीक्षक तेजीलाल यादवको जिम्मेवारी खोसिएको छ । रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार यादवलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ । यादवमाथि विभागीय कारबाही हुने उनले बताए । कारागार सुरक्षा इन्चार्जको जिम्मा प्रहरी नायव निरीक्षक राम छविला यादवले पाएका छन् ।