१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ०७:०६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

डिएलएस मेथड के हो ? कसरी नेपालले जित्यो ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ०७:०६:००

डिएलएस अर्थात् डकवर्थ–लुइस–स्टर्न यस्तो गणितीय सूत्र हो, जसमा वर्षा वा ब्याड लाइटले रोकिएको खेलको ओभर र लक्ष्य घटाएर नयाँ लक्ष्य तय गरिन्छ । लक्ष्य पछ्छाइरहेको टिमलाई नियमअनुसार तय भएको नयाँ लक्ष्य दिइन्छ, जसमा मुख्यतः बचेको ओभर र विकेट दुवैलाई ध्यान दिइन्छ ।

थोरै ओभरमा कसरी नयाँ लक्ष्य तय गरिन्छ भन्ने गणितीय सूत्रमा काम हुन्छ, जुन सूत्र इंग्ल्यान्डका गणितज्ञ फ्र्यांक डकवर्थ र टोनी लुइसले तयार पारेका थिए, यसलाई सन् १९९९ देखि आइसिसीले प्रयोगमा ल्याएको हो । यसपछि अस्ट्रेलियाको स्टिव स्टर्नले सन २०१५ मा विश्वकपभन्दा अगाडि यसलाई अपडेट गरे, त्यसपछि यो सूत्रमा उनको पनि नाम जोडियो र डिएलएस अर्थात् डकवर्थ–लुइस–स्टर्न भयो । 

यस नियमअनुसार विकेट र ओभर दुवैलाई रिसोर्स मानिन्छ । इनिङको सुरुवातमा दुवै टिमसँग रहेको १० विकेट र ५० ओभरलाई १०० प्रतिशत रिसोर्स मानिन्छ । यो सूत्रअनुसार बाधा भएको खेल अवधिमा कुन टिमले कति रिसोर्स खर्च गर्‍यो भन्ने तय गरिन्छ । एक विकेट वा एक ओभरलाई रिसोर्स प्रतिशतमा बदल्न लिमिटेड ओभर क्रिकेटको स्कोरिङ ढाँचालाई प्रयोग गरिन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा रिसोर्स भेल्यु एक कम्प्युटर प्रोगामको माध्यमबाट तय गरिन्छ, जो सार्वजनिक छैन । 

यो नियममा पहिले खेल्ने टिमले खेल रोकिने वेलासम्म कति रिसोर्स प्रयोग गरेको थियो भन्ने पत्ता लगाउने सूत्र हुन्छ । बिहीबारको खेलमा नियमअनुसार खेल रोकिने वेलासम्म नेपालसँग ६ ओभर र चार विकेट बाँकी थियो, अर्थात् नेपालको १६ दशमलव ४ प्रतिशत रिसोर्स बच्यो । यही सूत्रअनुसार ८३ दशमलव ६ प्रतिशत रिसोर्स खर्च गर्दा युएईले २५९ दशमलव १६ रन बनायो । यही अवधिमा नेपालले भने २६९ रन बनाइसकेको थियो । त्यसैले नेपाल ९ रनले विजयी भयो । 

अब खेलको नतिजा कसरी तय हुन्छ भन्ने प्रश्न आयो । यसमा सूत्र छ– टिम २ ( नेपाल) को नयाँ लक्ष्य = टिम १ (युएई) को स्कोर (३१०) x (टिम २ (नेपाल) को रिसोर्स (८३.६)÷टिम १ (युएई)को रिसोर्स (१००) । यो सूत्रअनुसार नेपालको लक्ष्य २६०.१६ भयो । जुन युएईको भन्दा ९ रन बढी थियो । यही आधारमा नेपालको जितको घोषणा भएको हो । यदि नेपालले विकेट नगुमाई ४५ ओभर खेलेको भए पनि नेपालको रिसोर्स ८५.७ प्रतिशत हुन्थ्यो । यसो हुँदा पनि नेपालले ३ रनले जित्ने अंक आउँथ्यो ।