१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत २ बिहीबार ११:३१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी गरौँ बच्चामा दमको पहिचान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत २ बिहीबार ११:३१:००

बालबालिकामा देखिने जटिल स्वास्थ्य समस्यामध्ये दम एक हो । समयमै राम्ररी उपचार नगरेमा बालबालिकाको श्वासप्रश्वासमा यसले नकारात्मक समस्या निम्त्याउँछ । कहिलेकाहीँ त मृत्यु पनि हुन सक्छ । त्यसकारण आफ्नो बच्चालाई दम भएको हो/होइन भन्ने थाहा पाउन जरुरी छ । 

दम हुँदा के–के लक्षण देखिन्छन् ?
लामो समय खोकी लाग्ने, विशेषगरी रातको समयमा धेरै खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सुत्दा अप्ठ्यारो मान्ने, स्याँ–स्याँ हुने, घ्यारघ्यार हुने, छातीमा सिट्ठी बजेजस्तो आवाज आउने लक्षण देखिन्छन् । यी लक्षण देखिएमा आफ्नो बच्चालाई दम भएको छ कि भनेर अभिभावकले ख्याल गर्नु जरुरी छ । रुखाखोकी, धुवाँ, धुलो, एलर्जी, भाइरल इन्फेक्सनजस्ता कारणले दमको ट्रिगरको रूपमा काम गर्छ । 

दम कसरी पुष्टि गर्न सकिन्छ ? 
यी लक्षण भएका बालबालिकालाई विभिन्न टेस्ट गर्नुपर्छ । रोग पहिचान गरेपछि मात्रै उपचार थालिन्छ । पाँच वर्षभन्दा मुनिका बच्चामा चाहिँ लक्षणका आधारमा पनि उपचार गर्नुपर्ने हुन सक्छ । दम भएका बालबालिकामा गरिने केही टेस्ट छन् । त्यसमा एउटा पल्मोनरी फङ्सन टेस्ट हो । अर्को चाहिँ स्पाइरोमेट्री (बच्चालाई एउटा मेसिनमा सास फुक्न लगाउने) गर्नुपर्छ । दम भएका बालबालिकामा टेस्ट गर्दा ‘सालबुटामोल’ भन्ने औषधि दिएर पुनः फुक्न लगाउनुपर्छ । यसलाई रिभर सेभिलिटी टेस्ट पनि भन्ने गरिन्छ । 

पाँच वर्षभन्दा साना बच्चाले यसरी सास फुक्न सक्दैनन् । उनीहरूमा लक्षणका आधारमा दम हो भनेर उपचार गर्नुपर्ने हुन्छ । साना बच्चामा दमभन्दा पनि अरू कारणले घ्यारघ्यार हुन सक्छ । त्यसैले अन्य केही रोग छन् कि भनेर पनि जाँच गर्नुपर्ने हुन्छ । त्यसमध्ये दूरबिनबाट गरिने श्वासनलीको जाँच पनि एक हो । 

बालबालिकामा दम हुनुका कारण 
एलर्जी, धुलो, धुवाँ तथा वंशानुुगत कारणले पनि दम हुन सक्छ । त्यस्तै, भाइरल इन्फेक्सन, खानपान नमिल्दा र किरा तथा फुडको एलर्जीले पनि दम हुने गर्छ । 

उपचार विधि 
दमको डाइग्नोसिस गरेपछि श्वासप्रश्वासको विधिबाट पनि उपचार गर्नुपर्ने हुन्छ । बारम्बार मुखले खाने औषधि प्रयोग गर्दा नकारात्मक असर निम्तिन सक्ने भएकाले इनहेलरको प्रयोगले उपचार गर्नुपर्ने हुन्छ । सामान्यतया दुईथरी इनहेलरको प्रयोग हुन्छ । एकथरी इनहेलरले तुरुन्तै आराम दिन्छ, त्यसलाई रिलिभर भनिन्छ । र, यो बच्चालाई धेरै गाह्रो भएको अवस्थामा प्रयोग गरिन्छ ।

अर्को, कन्ट्रोलर इनहेलर हो । यो लामो समयसम्म प्रयोग गर्नुुपर्ने हुन्छ । कन्ट्रोलर इनहेलरको प्रयोगले बच्चाको दम लामो समयसम्म कन्ट्रोल हुने सम्भावना धेरै रहन्छ र केही बच्चामा निको नै हुन्छ । बच्चामा इनहेलरको प्रयोग पेसरका माध्यमबाट गर्नुपर्ने हुन्छ । पेसर प्रयोग नगर्दा सबै औषधि घाँटीमा जम्मा हुन्छ र फोक्सोमा कम पुग्छ । जसकारण औषधिको असर कम हुन्छ र रोग नियन्त्रण गर्न गाह्रो हुन्छ वा औषधिले काम नगर्न पनि सक्छ । इनहेलर प्रयोगपश्चात् घाँटी कुल्ला गर्नुपर्छ ।