मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत २ बिहीबार ०९:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दिउँसो ३ बजे नै विद्यालय बन्द गरेर घर जान्छन् शिक्षक

Read Time : < 1 मिनेट
२०७९ चैत २ बिहीबार ०९:५९:००

बागलुङ नगरपालिकामा तित्याङ सिम्स्वारमा रहेको रानीभूमि प्राथमिक विद्यालयमा निर्धारित समयभन्दा कम समय मात्र पठनपाठन हुने गरेको पाइएको छ । बाग्लुङ नगरपालिका– ९ का वडाध्यक्ष राजु थापा नेतृत्वको टोली दिउँसो ३:१३ बजे विद्यालय पुग्दा पठनपाठन बन्द भइसकेको थियो । जब कि शुक्रबारबाहेक बिहान १० देखि ४ बजेसम्म पठनपाठन हुनुपर्ने हो । 

‘दिउँसो सवा ३ बजे पुग्दा विद्यालयमा न विद्यार्थी थिए न त शिक्षक नै,’ नगरपालिकाका इन्जिनियर दीपेन्द्र भण्डारीले भने, ‘शिक्षा तथा खेलकुद शाखामा जानकारी गराएर फर्कियौँ ।’ बालविकासदेखि कक्षा ३ सम्म सञ्चालन हुने उक्त विद्यालयमा अन्य दिन पनि कहिले २:३० कहिले ३ बजे नै विद्यालय बन्द हुने गरेको स्थानीय अभिभावक बताउँछन् । 

प्रधानाध्यापक क्षेत्री भन्छन्– कति वेला विद्यालय बन्द भयो थाहा छैन
प्रधानाध्यापक विमलबहादुर क्षेत्रीले भने भान्जाको व्रतबन्ध रहेकाले आफू दिउँसो १ बजे नै विद्यालयबाट निस्किएको बताए । उनले विद्यालयको अर्को शिक्षक जमुना जिसीलाई सबैै जिम्मेवारी दिएर निस्किएको र विद्यालय कति वेला बन्द भयो आफूलाई थाहा नभएको बताए । ‘उहाँहरू पनि विद्यार्थी घर पठाएर बन्द गरेर जानुभएछ । यो हाम्रो गल्ती हो,’ उनले स्वीकार गरे ।

क्षेत्रीले आफू हुँदा ३:३० सम्म विद्यालय सञ्चालन गर्ने र त्यसपश्चात् मात्र घर जाने गरेको बताउँछन् । बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले निर्धारित समयसम्म पनि विद्यालय सञ्चालन नगर्नेलाई नगरपालिकाले स्पष्टीकरण सोध्नका लागि आवश्यक कारबाही अगाडि बढाउने बताए । ‘बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा शिक्षक हुनैपर्छ,’ पोखरेलले भने, ‘के कारणले ३ बजे नै विद्यालय बन्द गरेर जानुभयो, हामी सोध्छौँ ।’ विद्यालयमा १६ विद्यार्थी छन् भने एक बालविकास सहजकर्तासहित दुई शिक्षक र एक कार्यालय सहयोगी रहेको प्रअ क्षेत्रीले बताए ।