
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको बिहीबार अन्तिम खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदै छन् । विश्वकप लिग–२ को १४०औँ खेल निकै रोमाञ्चक हुने सम्भावना छ । नेपालले तेस्रो स्थान हात पार्न र युएई पाँचौँ स्थानमा रहन जित अनिवार्य छ । जितले युएईको एकदिवसीय मान्यता रक्षा हुने आधार बलियो हुनेछ ।
युएईसँगको हारले नेपाल चौथो स्थानमा सीमित हुनेछ । यसै कारण दुवै टोलीलाई जित नै अन्तिम विकल्प हो । त्रिविको घरेलु मैदानमा नेपालले हजारौँ समर्थकबीच युएईविरुद्ध खेल्दै छ । नेपाल लगातार छैटौँ जित निकाल्ने योजनामा छ । मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा पछिल्ला ११ मध्ये १० खेल जित निकालेको नेपालको नजर जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गर्ने हुनेछ । पछिल्लो पाँचमध्ये चार भेटमा नेपालले युएईलाई हराएको छ ।
युएईले आफ्नो पक्षमा एक खेल जितेको छ । तालिकामा नेपाल ३५ खेलबाट १८ जित र १५ हारसहित ३८ अंक जोडेर चौथो स्थानमा छ । ३५ खेलबाट ३३ अंकसहित युएई छैटौँ स्थानमा छ । अन्तिम खेलमा नेपालले जित हात पारे ४० अंकसाथ तेस्रो स्थान पक्का गर्नेछ । नामिबिया चौथो स्थानमा झर्नेछ ।
नेपालसमक्ष त्रिवि मैदानमा एक महिनाको अवधिभित्र दुई सिरिजमाथि क्लिन स्विप गर्ने अवसर छ । यसअघि, स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो । अहिले नेपालले चारमध्ये तीन खेलमा जित निकालेको छ । बुधबार अन्तिम खेलमा जित निकाले नेपालले सिरिजमाथि क्लिन स्विप गर्नेछ । नेपालले सिरिजअन्तर्गत पपुवा न्युगिनीलाई ५२ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले युएईलाई एक सय ७७ रनले हरायो । नेपालले पिएनजीलाई ९ विकेटले स्तब्ध बनायो । नेपालले पछिल्ला दुई खेलमा क्रमशः युएईलाई ७१ रन र पिएनजीलाई ९५ रनमा अलआउट गरेको थियो ।
नेपालको वरीयता सुधार
नेपालले आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा एक स्थान सुधार गरेको छ । पछिल्ला ११ मध्ये १० खेलमा जित निकालेपछि नेपाल १७औँ स्थानबाट १६औँ स्थानमा उक्लिएको हो । नेपालले नामिबियालाई पछि पारेको छ । नेपालभन्दा पछाडि नामिबिया, अमेरिका, युएई र पिएनजी रहेका छन् । एसोसिएटतर्फ लिग–२ च्याम्पियन स्कटल्यान्ड १२औँ स्थानमा छ ।
यसैबीच, नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय बलिङ वरीयतामा सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार अपडेट गरेको नयाँ एकदिवसीय वरीयतामा सन्दीप २१औँ स्थानमा उक्लेका छन् । सन्दीपले भारतका जसप्रित बुमराह, वानिन्दु हसरंगा, युजभेन्द्र चाहल र कुलदीप यादवजस्ता विश्व चर्चित बलरलाई पछि पारेका छन् । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन स्थान सुधार गर्दै ६०औँ स्थान रक्षा गरे । दीपेन्द्रसिंह ऐरी ६३औँ स्थानमा छन् ।
हाम्रो लक्ष्य तेस्रो स्थान हो : रोहितकुमार पौडेल, कप्तान, नेपाल
हाम्रो लक्ष्य नै अंक तालिकाको शीर्ष तीन हो । अहिले सबै खेलाडी यसैमा केन्द्रित छन् । अंक बाँड्दा वा पराजित भए नेपालको सीधै एकदिवसीय विश्वकप छनोट खेल्ने सपना सकिनेछ । त्यो अवसर नगुमाउन पनि हामी जितकै लागि खेल्नेछौँ । नेपालको घरेलु मैदानमा लगातार शृंखला ‘क्लिन स्विप’ गर्ने योजना पनि हो । लगातारको उत्कृष्ट प्रदर्शनले खेलाडीको मनोबल उच्च रहेको छ ।
युएई ६ विकेटले विजयी
कप्तान मोहम्मद वासिमले शतक बनाएपछि युएईले बुधबार पपुवा न्युगिनीलाई ६ विकेटले हराएको छ । पपुवा न्युगिनीले प्रस्तुत गरेको दुई सय ३५ रनको लक्ष्य युएईले ३८.४ ओभरमा चार विकेट गुमाउँदै भेट्टाएको थियो । आक्रामक ब्याटिङ गरेका वासिमले ७६ बलमा १२ छक्का र ६ चौकाको मद्दतमा एक सय १९ रन बनाए । दोस्रो विकेटका लागि वासिम र अरविन्दले एक सय २५ रनको साझेदारी गरेका थिए । वृत्या अरविन्दले ३३ रन, सिपी रिजवानले २९ र आयन अफजल खानले २७ रनको योदगान दिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ३४ रन बनाएको थियो । कप्तान असाद भालाले ९२ बलमा ६ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६५ रन जोडे । यसैगरी, नोर्मन भानुआले ३१ बलमा पाँच छक्का र एक चौका मद्दतमा अविजित ४९ रनको योगदान गरे ।
राइली हिकुरेले ३३ रन, किप्लिङ डोरिगाले २४ र चाल्र्स अमिनीले २२ रन बनाए । सातौँ विकेटका लागि भानुआ र हिकुरेले ७२ रनको साझेदारी गरेका थिए । भाला र अमिनीबीच चौथो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो ।
छनोटमा कुन–कुन राष्ट्र छन् ?
जिम्बाबेमा हुने विश्पकप छनोटमा १० टोलीको सहभागिता हुनेछ । यो प्रतियोगिताका लागि सबै टोलीको निर्णय भइसकेको छैन । लिगमा शीर्ष तीन टोली, सुपर लिग–२ को पाँच टोली र प्लेअफ क्वालिफायरका दुई टोलीले विश्वकप छनोट खेल्नेछन् ।
१० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र समूहका शीर्ष तीन–तीन टोलीले सुपर सिक्स प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्युजिल्यानड र पाकिस्तानले विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।