मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १ बुधबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १ बुधबार १८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसविरुद्ध निर्वाचन आयोगमा एमालेको उजुरी

आचारसंहिताको गम्भीर उल्लंघन गरेको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार १८:५o:oo

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा एमालेले बुधबार सत्तारुढ दल कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। 

३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनमा बुधबार मध्यरातबाट निर्वाचन आचारसंहिता लागू भइसके पनि कांग्रेसले सांसदलाई भेला गरेर उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको पक्षमा भोट हाल्न निर्देशन दिएर गम्भीर उल्लंघन गरेको एमालेको आरोप छ। 

कांग्रेसको त्यस्तो कदमले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेकाले आयोगमा उजुरी दर्ता गराएको संसदीय दलका सचेतक महेश बर्तौलाले विज्ञप्तिमार्फत जनाएका छन्। 

‘चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि हिजो राति १२ बजेदेखि शून्य समय प्रारम्भ भएको छ। शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा कसैले मत माग्नु वा निर्वाचनलाई प्रभावित गर्ने गरी उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिताविपरीत हुन्छ। तर, शून्य समय प्रारम्भ भइसकेको अवस्थामा आज नेपाली कांग्रेसले बैठक बसेर निर्वाचन आचारसंहिताविपरीत उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको पक्षमा भोट हाल्न आफ्ना सांसदहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ,’ बर्तौलाले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली कांग्रेसले गरेको निर्णयले उपराष्ट्रपतिजस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ।’

सचेतक बर्तौलाले कांग्रेसको निर्देशनले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई  समेत कमजोर बनाएको भन्दै आचारसंहिता उल्लंघनको सो निर्णयप्रति ध्यानाकर्षण गराउँदै निर्वाचन आयोगमा उजुरीसमेत दर्ता गरेको जनाएका छन्।