१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोरङ प्रहरीमा बचत फिर्ता माग्दै उजुरी दिने निक्षेपकर्ताको लाइन ।
गणेश लम्साल विराटनगर
२०७९ फाल्गुण ३० मंगलबार ०८:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निक्षेपकर्ताको १२ करोड अपचलन गरेको आरोपमा तुलसी सहकारीका आठजनाविरुद्ध ठगी मुद्दा

सहकारीका तीनजना पदाधिकारी पक्राउ, निक्षेप माग गर्दै प्रहरीमा उजुरी दर्ता गराउनेको भिड

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ फाल्गुण ३० मंगलबार ०८:१६:००

प्रहरीले १२ करोड निक्षेप अपचलन गरेको आरोपमा तुलसी सहकारी संस्थाका आठजनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको छ । कोसी प्रदेशका मुख्य सहरहरूमा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरी निक्षेपकर्ताको करोडौँ रकम अपचलन गरेको आरोपमा प्रहरीले सहकारी आठजनाविरुद्ध सोमबार ठगी मुद्दा दर्ता गरेको हो ।

विराटनगर महानगरपालिका– ३ मुनालपथमा केन्द्रीय कार्यालय रहने गरी स्थापना भएको तुलसी बहुउद्देश्यीय सहकारी १३ चैत ०५२ मा सहकारी विभागमा दर्ता भएको हो । सहकारीले झापाको दमक र उदयपुरको गाईघाटलगायतका सहरमा शाखा कार्यालय स्थापना गरी बचत संकलन गर्दै आएको छ । 

निक्षेपकर्ताहरूको रकम अपचलन गरेको आरोपसहित उजुरी परेपछि प्रहरीले संस्थाका दुई पदाधिकारी र एक प्रबन्धकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्थाकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, क्षेत्रीय प्रबन्धक मन्दीप खवास छन् । संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित अन्य पाँच आरोपी फरार छन् । उनीहरूलाई चाँडै नियन्त्रणमा लिने मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए । 

नेपालभरि कार्यक्षेत्र रहने गरी ०५२ मा स्थापना भएको सहकारीको मुख्य कार्यालय विराटनगर महानगरपालिका– २ मुनालपथमा छ । १ फागुनदेखि सेयर सदस्यहरूलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनी जाहेरीका आधारमा प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएपछि तीनजनालाई पक्राउ गरी आठजनाविरुद्ध अदालतमा ठगी मुद्दा दर्ता गरेको एसपी पोखरेलले बताए ।

सुरुमा १३ जना बचतकर्ताले निक्षेप रकम फिर्ता नभएको भन्दै सहकारीमा रकम अपचलन भएको भन्दै बचत दिलाइदिन उजुरी गरेका थिए । तर, प्रहरी प्रशासन गुहारेर छलफल गराउँदा पनि संस्थाका पदाधिकारीहरूले उल्टै गालीगलौज गरेपछि घटना बाहिर आएको थियो । हालसम्म एक सय २१ जना बचतकर्ताले उजुरी गरिसकेको र थप उजुरी दिने बचतकर्ताहरूको कार्यालयमा लर्को लागेको मोरङका एसपी पोखरेलले बताए । 

उनका अनुसार तुलसी सहकारीमा हालसम्म २१ हजार पाँच सयजना सदस्य छन् । मोरङमा मात्र चार हजारभन्दा बढी बचतकर्ता रहेको र ६० करोडभन्दा बढी मोरङबाट मात्र निक्षेप संकलन भएको खुलेको छ । तुलसी सहकारीले देशभरिबाट एक अर्ब ४० लाखभन्दा बढी रकम बचतकर्ताबाट निक्षेप संकलन गरेर अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हाल तुलसी सहकारीका सबै शाखा र केन्द्रीय कार्यालय बन्द गरेर त्यहाँ कार्यरत पदाधिकारी र कर्मचारी फरार भएका छन् । 

तुलसी सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत खाताहरूको आकर्षक कार्यक्रम ल्याएर १५ प्रतिशतभन्दा बढी व्याज र बोनस दिने भन्दै निक्षेप संकलन गरेको थियो । सोही आश्वासनमा परेर सर्वसाधारणले आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा लाखौँ रुपैयाँ बचत गरेका थिए । तर, बचतकर्ताले निक्षेप फिर्ता माग्दा १ फागुनदेखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारी सम्पर्कविहीन भएपछि ठगी आरोपको उजुरी प्रहरीसमक्ष पुगेको थियो । 

२८ फागुनमा केही बचतकर्ताले १२ करोड नौ लाख रुपैयाँ ठगी भएको भनी संस्थामा कार्यरत आठजनाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा तीनजनालाई पक्राउ गरिएको तथा अन्य पाँचजनाको खोजतलास भइरहेको एसपी पोखरेलले बताए । सहकारीका अध्यक्ष शर्मा भारतमा लुकेर बसेको खुलेको प्रहरीले जनाएको छ । अन्य सदस्यहरू छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टी अधिकारी, आदित्यराज भट्टराई, सुरुचि पोखरेल सम्पर्कविहीन छन् । रकम हिनामिना गरेको आरोपमा पदाधिकारी र प्रबन्धक पक्राउ परेको सार्वजनिक भएपछि मोरङ प्रहरीमा उजुरी दिनेको भिड लागेको छ । प्रहरीले सबै बचतकर्तालाई रकम दाबी गर्दैे उजुरी दिन आह्वान गरेको छ । 

 सहकारी विभागले दियो अनुसन्धानका लागि प्रहरीलाई अनुमति 
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार तुलसी सहकारीका अध्यक्ष शर्मालगायतका पदाधिकारीले निक्षेपको रकम आफ्ना विभिन्न कम्पनी र कारोबारमा लगानी गरेका छन्। निक्षेपकर्तालाई बचतको रकम समयमा फिर्ता दिन आनाकानी गरेपछि प्रहरी, प्रशासन र सहकारी विभागमा गुहार मागेका थिए । पटक–पटक निक्षेपकर्ताको रकम फिर्ता दिन प्रहरीले समन्वय गरी छलफल गराउँदा पनि आनाकानी गरेपछि ठगीको घटना सार्वजनिक भएको थियो । अपचलनको उजुरी आएपछि प्रहरीले सुरुमा प्रशासनको निर्देशनमा संस्थाका केही पदाधिकारीलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा कसुर दर्ता गराएर समन्वय गराउन प्रयत्न गरेको थियो ।