१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार ०७:५८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा चिनियाँ बैंकको शाखा खोल्न चीन सकारात्मक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ३० मंगलबार ०७:५८:००

नेपाल–चीनबीचको व्यापारमा भुक्तानीको समस्या हटाउन नेपालमा चिनियाँ बैंकको शाखा स्थापना गर्न चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा आएका चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)का उच्च अधिकारीहरूले नेपालसहित दक्षिण एसियाली मुलुकमा बैंकिङ सेवा सहजीकरण गर्ने सम्बन्धमा अध्ययन भइरहेको बताएका छन् । 

दुई देशको व्यापारमा भुक्तानीको समस्या रहेको भन्दै नेपाली व्यवसायीले लामो समयदेखि चिनियाँ बैंकको शाखा स्थापना गर्न माग गर्दै आइरहेका थिए । ‘नेपालमा मात्र नभई दक्षिण एसियाभर नै चिनियाँ बैंकको सेवाका लागि माग भइरहेको छ,’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सिसिपिआइटी उपाध्यक्ष झाङ साओगाङले भने, ‘यसमा हामी गम्भीर छौँ र अध्ययन पनि गरिरहेका छौँ, त्यसैले चाँडै नै यो विषय सकारात्मक रूपमा सम्बोधन हुनेछ भन्ने विश्वास छ ।’  

नेपाल–चीन उद्योग वाणिज्य संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली व्यवसायीहरूले चीनसँगको कारोबारमा भइरहेको भुक्तानीको समस्यालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए । संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले कोभिडपछि सुस्ताएको नेपार–चीनबीचको आर्थिक सम्बन्ध पछिल्ला दिनमा सुधार हुँदै गएको बताए ।

‘चीनसँगको व्यापारिक सम्बन्धमा वृद्धि, चिनियाँ पर्यटकको संख्या बढ्दै जानु हाम्रा लागि सुखद पक्ष हो,’ उनले भने, ‘हामी चीनसँग दिगो आर्थिक साझेदारी गर्न चाहन्छौँ । यसका निमित्त चीन र नेपालबीच कनेक्टिभिटी बढाउनुपर्ने आवश्यकता छ । हामीले स्थलसँगै हवाई सम्पर्कमा पनि उल्लेख्य वृद्धि गर्नुपर्ने जरुरी देखेका छौँ ।’ 

चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न आतुर रहेको र प्रस्तावित रेलमार्गबाट जोडिन सके लाभदायी सहकार्य हुने उपाध्यक्ष साओगाङको भनाइ थियो । बिआरआईमार्फत दुई देशको व्यापारिक सम्बन्धमा गुणस्तरीय आयाम थप्न सकिने उल्लेख गर्दै उनले आसन्न बिआरआई समिटमा नेपालको सक्रिय सहभागिताको अपेक्षा गरिएको बताए । चीनका विभिन्न सहरमा हुने एक्स्पोमा नेपाली उत्पादकलाई पनि उत्प्रेरित गर्न सकेमा चिनियाँ बजारमा नेपाली वस्तु स्थापित हुने उनको सुझाव छ । 

संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनले हालै मात्र पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई समावेश गरेको स्मरण गराउँदै यसबाट सहकार्यले नयाँ उचाइ हासिल गर्ने धारणा व्यक्त गरे । नेपाली व्यवसायीहरूले स्थलनाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने, नेपाली उत्पादन निकासीमा देखिएका समस्या समाधान गरिनुपर्ने तथा पोखरा र भैरहवा विमानस्थलबाट चीनका विभिन्न सहरमा सीधा उडान गर्न जोड दिइनुपर्ने बताएका थिए । आइतबार नेपाल आइपुगेको चिनियाँ भ्रमण टोलीले चार दिन नेपालको व्यावसायिक संस्थासहित विभिन्न सरकारी प्रतिनिधिसँग भेटवार्ता गर्नेछ ।