
अन्तिम केही मिनेट सम्हालिन नसक्दा नवप्रवेशी सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो हार व्यहोरेको छ ।
खेलको ८९औँ मिनेटमा थ्री स्टारका आदित्य शाक्यले गरेको निर्णायक गोलका कारण सातदोबाटोले पराजय व्यहोरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुवैले पाएका मौकालाई सदुपयोग गर्न नसक्दा गोलका लागि अन्तिम मिनेटसम्म कुर्नुपरेको थियो ।
तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पानीले ओसिलो भएको मैदानमा आदित्यले थ्री स्टारलाई महत्वपूर्ण तीन अंक दिलाए । थ्री स्टारका लागि यो दोस्रो जित हो । चौथो चरणमा जितविहीन भएको सातदोबाटो नौ अंकसहित लिगको दोस्रो स्थानमा छ । थ्री स्टारले चार खेलबाट सात अंक बनाएको छ ।