मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २९ सोमबार ११:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्स्पेक्टरको फुली लगाएर जवान प्रहरी कार्यालय पुगेपछि...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २९ सोमबार ११:५८:००

इन्स्पेक्टरको दर्ज्यानी चिह्न लगाएर प्रहरी कार्यालयमा गई असइलाई दबाब दिने सशस्त्र प्रहरीका एक जवान निलम्बनमा परेका छन् । आचारसंहिताविपरीत कार्य गरेकोमा सशस्त्र प्रहरी जवान सन्दीपकुमार साह निलम्बित भएका हुन् ।

उनले सशस्त्र प्रहरी निरीक्षकको दर्ज्यानी चिह्नसहितको बर्दीमा इलाका प्रहरी कार्यालय आरुघाटमा पुगी म गोरखा गुल्मको इन्स्पेक्टर हुँ भन्दै इलाका प्रहरी कार्यालयमा परेको एक निवेदनमाथिको छलफललाई प्रभावित पार्न खोजेका थिए । 

सशस्त्र प्रहरी जवान साह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा कार्यरत रहेकोमा १० दिन घर बिदा स्वीकृत गराई बिदा गएका थिए । 

गोरखा जिल्ला आरुघाट गाउँपालिका– ३ थुमी बस्ने १५ वर्षीया  सुस्मिता बराम यही फागुन १५ देखि १९ गतेसम्म गोरखा जिल्लाको सदरमुकाममा रनिङ सिल्डका लागि भाग लिन गएको र सो कार्यक्रमपश्चात् घर फिर्ता नभई सोही वडाको श्यामम्राङ बस्ने हिराबहादुर बरामले ललाइफकाई आफूसँग लगेको भन्ने निवदेन इलाका प्रहरी कार्यालय आरुघाटमा परेका थियो । 

सुस्मिता बरामका बुबाले नाबालिका छोरीलाई ललाइफकाई लैजाने हिराबहादुर बरामउपर कारबाही गरिपाऊँ भनी निवेदन दिएपछि दुवै पक्षलाई आवश्यक अनुसन्धानका लागि उक्त प्रहरी कार्यालयमा झिकाइएको थियो । सशस्त्र प्रहरी जवान साहले सुस्मिता बरामको बुबा मेरो ससुरा र हराएकी सुस्मिता बराम मेरो साली हो, उक्त केसमा आएको हुँ भनी इलाका प्रहरी कार्यालय आरुघाट पुगेको थिए । 

घटनालाई प्रभावित पार्न र सालीको पक्षमा वकालत गर्न गएको भन्ने बुझिएका उनलाई चिह्नसहितको बर्दी दुरुपयोगसमेत गरेपछि सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ खण्ड (घ) बमोजिम निलम्बन गरी कारबाही  प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।