मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी तेहरान
२०७९ फाल्गुण २९ सोमबार ०८:५२:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इरानमा विष आक्रमणको आरोपमा सयजना पक्राउ

Read Time : < 1 मिनेट
एजेन्सी, तेहरान
२०७९ फाल्गुण २९ सोमबार ०८:५२:००

इरानी विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढंगले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा एक सयभन्दा बढीलाई पक्राउ गरिएको छ । गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा गम्भीर बन्दै गएको छ । विद्यालय परिसरमा विषाक्त गन्ध फैलाएर छात्रालाई आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । धेरै छात्रा बेहोस हुने, वाकवाकी लाग्ने, सास फेर्न कठिन हुने समस्याबाट पीडित भएका थिए । उनीहरूमध्ये अझै कतिपय अस्पतालमा उपचारार्थ छन् । 

देशका दुई सयभन्दा बढी विद्यालय परिसरमा विषाक्त गन्ध फैलाएर ‘शत्रु समूह’ले आक्रमण गरेको जनाउँदै गृह मन्त्रालयले अपराधीहरूलाई कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । यो घटनाबाट विद्यार्थी र अभिभावक क्रुद्ध एवं भयभीत छन् । इरानी जनतामा त्रास सिर्जना गर्ने तथा विद्यालय बन्द गराउने उद्देश्यका साथ विष आक्रमण गरिएको गृह मन्त्रालयले बताएको छ । गत साताको मध्यदेखि विषाक्त आक्रमणका घटना नभएको, छात्रा बिरामी परेका खबर पनि प्राप्त नभएको मन्त्रालयको कथन छ ।

अल्वानियामा रहेको इरानको विपक्षी अतिवादी संगठनले उक्त आक्रमण गराएको ठानिएको छ । पक्राउ परेकाहरूसँग सोधपुछ र अनुुसन्धान जारी रहेकाले आतंकवादी संगठनसँग उनीहरूको संलग्नता पुष्टि भइनसकेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । इरानका ३१ प्रान्तमध्ये २५ प्रान्तका करिब दुई सय ३० विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थी विष आक्रमणको सिकार भएको पछिल्लो सरकारी तथ्यांकमा उल्लेख छ ।