१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १५:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कोसी’ नामकरणविरुद्ध बन्द आह्वान, जनजीवन प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

प्रदेश १ को नाम ‘कोसी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङको जनजीवन प्रभावित भएको छ। 

यही फागुन १७ गते प्रदेश १ को नाम ‘कोसी’ राखिएको विरोधमा गठित ‘संयुक्त संघर्ष समिति’ले आह्वान गरेको बन्दका कारण जिल्लाको जनजीवन आज बिहानैदेखि प्रभावित भएको हो। 

संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न पाएका छैनन्। चोकचोकमा खटिएका बन्दकर्ताले मोटरसाइकलसमेत नियन्त्रणमा लिएर पार्किङ गराइराखेका छन्। 

आफूहरूले आह्वान गरेको बन्दको समयमा सवारीसाधन चल्न नदिन बन्दकर्ता बिहान साढे ३ बजेदेखि दिक्तेलको किराँतचोकको सडकमा पुगेका थिए। संयुक्त संघर्ष समितिमा आबद्ध बन्दकर्ताहरू दिक्तेलको किराँतचोक र अल्छेढुंगास्थित मध्यपहाडी लोकमार्गमा बसेर सवारी आवागमनमा रोक लगाइरहेका छन्।

जिल्लामा सञ्चालित यातायातका सवारीसाधन ठप्प हुँदा यात्रु भने मारमा परेका छन्। बन्दकर्ताले दिक्तेल बजारका होटेल तथा पसलहरूसमेत पूर्ण रूपमा बन्द गराएका छन्। 

दिक्तेल बजारमा सञ्चालित होटेल तथा पसल बन्द गराउन बन्दकर्ताका टोली चोकचोकमा खटिएका छन्। उनीहरूको बन्द आह्वानलाई जिल्लामा व्यवसाय गर्दै आएका व्यवसायीले समेत साथ दिएको पाइएको छ। 

दिक्तेल बजार र आसपासका शैक्षिक संस्थामा पनि बन्दको प्रभावमा परेको पाइएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारभन्दा बाहिरका शैक्षिक संस्थामा भने आंशिक प्रभाव परेको स्थानीय बासिन्दाले बताएका छन्। 

दिक्तेलको तुलनामा अन्य ठाउँमा बन्दको प्रभाव कम देखिएको छ। पहिचानको आधारमा नामकरण गराउन दबाब सिर्जना गर्न गठित प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आह्वानमा जिल्लामा बन्द गरिएको हो। 

संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दलाई जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, किराँत राई यायोक्खा, किराँत सेवा समाज, नेपाल तामाङ घेदुङ, नेवाः देयःदबु, नेपाल तमु छ्योजधी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किराँत चाम्लिङ खाम्बातिम, किराँत साम्पाङ राई जुम्लेखा, दुमी राई फन्सिकिम खोटाङलगायतले ऐक्यबद्धता जनाएका छन् । पहिचान पक्षधर पार्टी एवं संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू संयुक्त संघर्ष समितिमा आबद्ध बन्दकर्तासँगै चोकचोकमा खटिएका छन्। 

इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा प्रदेशको नामकरण गराउन दबाब सिर्जना गर्न आज एक दिन जिल्ला बन्दको आह्वान गरिएको किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किराँतले बताए।

‘कसैलाई दुःख दिने नियत होइन, आफ्नो अधिकार स्थापित गर्न खोजेका हौँ,’ उनले भने, ‘हाम्रो अभियानलाई जिल्लावासीले साथ दिएका छन्। आफूहरूले उठाएको माग राज्यबाट सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ।’

पहिचान पक्षधरहरूको मागलाई बेवास्ता गर्दै ‘कोसी’ प्रदेश राखिएकाले त्यसलाई खारेज गरी ‘किराँत’ प्रदेश नामांकन गर्नुपर्ने माग राख्दै खोटाङमा नेकपा (माओवादी केन्द्र)का युवा नेता रविन खम्बूको नेतृत्वमा छुट्टै संघर्ष समिति गठन गरिएको छ। जिल्लामा गठित संयुक्त संघर्ष समितिले जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्यहरूलाई जिल्ला प्रवेशमा रोक लगाउनेलगायतका आन्दोलन घोषणा गरेको छ। 

जिल्लामा गठित संयुक्त संघर्ष समितिले शनिबार साँझ दिक्तेलमा मसाल जुलुस प्रदर्शन गरेकाे थियाे। दिक्तेलको बेसक्याम्पदेखि निकालिएको मसाल जुलुस किराँत चोक पुगेर समापन भएको थियो।