
घरको आर्थिक अवस्था कमजोर भएर कक्षा ६ पढ्दापढ्दै छाडेकी दलित बालिका मेनुका सिवाकोटी अहिले नियमित विद्यालय आउँछिन्। उनलाई उत्प्रेरणा दिन विद्यालय व्यवस्थापन समिति (विव्यस)का अध्यक्ष आङ्छिरी शेर्पा धेरैपटक अभिभावक भेट्न गाउँ पुगे।
कक्षा नौमा पढ्ने नोर्बु शेर्पा विद्यालय छाडेर अन्यत्र जाने तयारीमा थिए। अध्यक्ष शेर्पाले घरछेउमा रहेको विद्यालयमा पढ्न प्रेरित गरेपछि रोकिए। शेर्पा समुदायको बाहुल्य रहेको भोटेकोसी गाउँपालिका– ४ हिन्दीमा रहेको झिर्पु माध्यमिक विद्यालय केही महिनाको दौरानमै फेरिएको छ।
दिउँसभर खेतीपाती र चौँरीगोठमा काम गर्नुपर्ने बाध्यताले शिक्षा लिनबाट वञ्चित बालबालिका आजभोलि नियमित विद्यालय आएको देखेर शिक्षक दंग परेका छन्। अभिभावक खुसी भएका छन्।
गरे के हुँदैन भन्ने उदाहरण शेर्पाले नौ महिनामै प्रस्तुत गरेका छन्। विव्यस अध्यक्षमा चुनिएको ६ महिनासम्म शैक्षिक भ्रमण, अन्य विद्यालयबाट ज्ञान आर्जन र शिक्षाविद्सँग सल्लाह लिएर उनले नौ महिनामा झिर्पु माविलाई जिल्लाभर चिनाएका छन्।
विद्यालय व्यवस्थापन समिति (विव्यस)का अध्यक्ष आङ्छिरी शेर्पा
अहिले विद्यालयलाई नमुना मावि बनाउन शेर्पा जोडतोडले लागेका छन्। विव्यसमा रहेका सबै सदस्य, शिक्षक, अभिभावक र विद्यार्थीलाई नमुना स्कुल बनाउन प्रशिक्षित गरिरहेका छन्।
उनले सर्वप्रथम शिक्षाविद्हरू अभिषेक घिमिरे, बद्री दाहाल, कृष्ण गौतम, शिवराज पन्तलगायतलाई विद्यालयमा लगेर भोटेकोसीमा रहेका ३० विद्यालयका एक सय ६५ शिक्षकलाई एकै ठाउँमा भेला गराएर उत्प्रेरणा प्रशिक्षण दिएका छन्।
शेर्पाले हङकङको सोअर्स एक्सन नेपाल आइएनजिओसँग सहकार्य गरेर कक्षा ९ देखि १२ सम्म चिनियाँ भाषाको अतिरिक्त कक्षा सञ्चालन र ७ देखि १२ कक्षासम्मलाई दिवा खाजाको व्यवस्था गर्ने सम्झौता गरेका छन्।
शिक्षक, अभिभावक र विद्यार्थीलाई वेलावेलामा तालिम, घरघरमा पुगेर विद्यार्थी भेटघाट गर्ने र अभिभावक टोल समिति गठन गरेर शिक्षाको गुणस्तर बढाउने योजना कार्यान्वयन गरेका छन्। सबै शैक्षिक गतिविधि एउटा योजनागत प्रक्रियामा राखेर शिक्षकलाई हौसला प्रदान गरेकोले प्रधानाध्यापक टंक पन्त विव्यसबाट निर्माण भएको शैक्षिक कार्यक्रम कार्यान्वयन गर्न हौसिएका छन्।
विद्यालयमा सिसिक्यामेरा जडान गरेर मोबाइलबाटै विद्यालयको गतिविधि विव्यस अध्यक्षले नियालिरहेका हुन्छन्। विद्यालमा सेतोपाटी राखेर शिक्षक र विद्यार्थीको हरेक गतिविधिलाई अभिलेखीकरण गर्ने र उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई मासिक पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।
‘हाम्रो विद्यालयमा चार सय ७६ विद्यार्थी छन् । नौ महिनाअघि दैनिक एक सयभन्दा बढी विद्यार्थी अनुपस्थित हुन्थे,’ नियमित विद्यालय नआउँदा शैक्षिक गुणस्तर खस्कने गरेको बताउँदै शेर्पाले भने, ‘अब कुनै पनि विद्यार्थी र शिक्षक अनुपस्थित भएमा तुरुन्तै त्यसको खोजी हुने परिपाटी विकास भएको छ।’
शिक्षकलाई महिनाको दुईपटक अध्यापन विषयमा विज्ञबाट प्रशिक्षण दिने र विद्यालय प्रशासन सुधारका लागि महिनामा एकपटक बैठक बस्ने गरेको उनले बताए । विद्यालयको अवस्था र बालबालिकाको पढाइ बुझ्न शिक्षक, अभिभावक र विद्यार्थीलाई हप्ताको एकपटक फोन सम्पर्क गर्ने परिपाटीको विकास उनले गरेका छन्।
भोटेकोसीको हिमाली गाउँबाट विद्यालय आउने बालबालिकालाई झोला र शैक्षिक सामग्री पनि उपलब्ध गराउँदै आएको उनले बताए। चीनको सिमानामा पर्ने बस्तीका बालबालिका गाउँमा राम्रो पढाइ नहुने भएकाले राजधानी काठमाडौं आएर पढ्न रुचाउँथे । तर, यस वर्षदेखि ती बालबालिका आफ्नै गाउँको विद्यालय झिर्पु माविमा फर्केर अध्ययन गर्न थालेका छन्।