१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ फाल्गुण २८ आइतबार ०६:३८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मन्त्रिपरिषद् विस्तारलगत्तै चार दलले समाजवादी मोर्चा बनाउँदै

मोर्चा निर्माणमा माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाबीच सैद्धान्तिक सहमति, घोषणा हुन मात्रै बाँकी रहेको नेताहरूको दाबी

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ फाल्गुण २८ आइतबार ०६:३८:००

भविष्यमा पार्टी एकता गर्ने रणनीतिसहित चार राजनीतिक दलले तत्कालका लागि समाजवादी मोर्चा निर्माण अन्तिम चरणमा पुर्‍याएका छन् । समाजवादी मोर्चाबारे माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाबीच सैद्धान्तिक सहमति भइसकेको र घोषणा हुन मात्रै बाँकी रहेको नेताहरूले दाबी गरेका छन् । 

शीर्ष नेतृत्व राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा व्यस्त भएका कारण मोर्चा घोषणामा ढिलाइ भएको छ । ३ चैतमा उपराष्ट्रपति निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार हुने र त्यसपछि समाजवादी मोर्चा घोषणा हुने नेताहरूको भनाइ छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै समाजवादी मोर्चा बन्ने बताएका छन् ।

मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रीय सदस्यहरूको बैठकलाई शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चाकै जगमा कम्युनिस्टहरूबीच बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए ।

‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ,’ उनले भने, ‘केही दिनमा समाजवादी मोर्चा बन्छ । संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ ।

बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ ।’ एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थी एकताको पक्षमा रहेको दाबी प्रचण्डको छ । यद्यपि, एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरुद्धमा रहेको उनको जिकिर छ । ‘समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्नेछ, त्यसको पहल पनि हामी माओवादीहरूले नै लिनुपर्छ,’ प्रचण्डले भने, ‘एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ । त्यो मत कम्युनिस्ट आन्दोलनको हितमा छ । तर, एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ ।’ प्रचण्डले माओवादी धाराका कम्युनिस्ट घटकबीच पनि छलफल भइरहेको बताए ।

समाजवादी मोर्चा निर्माणबारे गत ४ मंसिरको संघ र प्रदेश निर्वाचनअघिदेखि नै छलफल भए पनि ठोस प्रगति भइसकेको छैन । सातदलीय गठबन्धनको सरकार बनेपछि समाजवादी मोर्चा गठनको प्रक्रिया रोकिएको थियो । ‘हामी धेरै नजिक पुगेका छौँ, शीर्ष तहमा पनि छलफल भइरहेको छ । केही प्राविधिक विषय मात्रै मिलाउन बाँकी छ,’ एकीकृत समाजवादीका एक नेताले भने । समाजवादी मोर्चा निर्माणलगायत विषयमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको सहमतिकै आधारमा माओवादीले जसपालाई उपराष्ट्रपति छाडेको ती नेताको दाबी गरेको छ । 

राष्ट्रपतिको निर्वाचनअघि ७, ११ र १२ फागुनमा मोर्चाबारे प्रचण्ड, नेपाल र यादवबीच समझदारी बनेको हो । त्यसअघि १३ पुसमा तीन नेताबीच मोर्चा निर्माणबारे छलफल भएको थियो । त्यही समझदारीअनुसार माओवादीले उपराष्ट्रपतिमा दाबी छाडेको थियो । त्यही जगमा आठदलीय गठबन्धनमा कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने समझदारी बनेको भएको थियो । 

जसपा अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा निर्माणको प्रक्रिया निकै अगाडि बढेको बताए । ‘विचार मिल्ने शक्तिबीच मिलेर जाने कुरा भएको छ । प्राविधिक विषय मिलाएर मोर्चा गठन गर्न बाँकी छ,’ उनले भने । यद्यपि, पार्टी एकताका लागि भने नामको अगाडि नेकपा हटाउनुपर्ने जसपाको सर्त छ । माओवादी र एकीकृत समाजवादी नामको अगाडि नेकपा हटाउन तयार छैनन् । त्यसैले मोर्चामार्फत कार्यगत एकता गर्दै पार्टी एकताको दिशमा अगाडि बढ्ने रणनीति नेताहरूको छ । 

विचार मिल्नेसँग मोर्चा निर्माणको प्रयास भइरहेको माओवादी महासचिव एवं एकता कार्यदलका सदस्य देव गुरुङले बताए । ‘हामी त सुरुदेखि नै समाजवादी मोर्चा र बृहत् वाम–समाजवादी एकताको पक्षमा छौँ । विगतमा एउटै कमिटीमा बसेर काम गरेका शक्तिबीच मोर्चा र एकताका हुनु स्वाभाविक हो । मोर्चा निर्माण र पार्टी एकताको सवालमा शीर्ष तहमा पनि छलफल भइरहेको छ ।’

एकीकृत समाजवादीका उपमहासचिव एवं कार्यदल सदस्य प्रकाश ज्वाला समाजवादी मोर्चा घोषणा गर्न मात्रै रहेको बताउँछन् । ‘राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनलगायत कारण मात्रै घोषणा हुन ढिला भएको हो । मोर्चा बनाएर जाने विषयमा सैद्धान्तिक सहमति भइसकेको छ । अब छिट्टै घोषणा हुन्छ,’ उनले भने ।

समाजवाद निर्माण गर्न बलियो शक्ति आवश्यक रहेको निष्कर्षसहित उनीहरू मोर्चा निर्माणमा छन् । तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दा मिल्ने दलहरूसँग सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी गर्न सकिने नीति लिइएको जसपाका प्रवक्ता मनीष सुमनले बताए । ‘विभिन्न चरणमा कार्यदल र शीर्ष नेताहरू स्तरमा छलफल भएको छ । निकट भविष्यमै समाजवादी मोर्चा बनाउने दिशामा अगाडि बढेका छौँ,’ उनले भने । 

समाजवादी मोर्चा र पार्टी एकताको आधार तयार पार्न तीनवटै दलले कार्यदल बनाएका छन् । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा, एकीकृत समाजवादीले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा र जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएका छन् । कार्यदलले विभिन्न चरणमा छलफल गर्दै आएको छ ।