
कञ्चनजंघाको फेदीमा रहेको ओलाङचुङगोलाका बासिन्दा वर्षौँदेखि तमोर नदी कटानको त्रासमा छन् । फक्ताङ गाउँपालिकाले ओलाङचुङगोलाको सुरक्षाका लागि गुरुयोजना बनाएर काम गर्ने भएको छ ।
ओलाङचुङगोलाको सुरक्षाका लागि गाउँपालिकाले तमोर नदी कटान रोक्न डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरिरहेको छ । हिमाली गाउँका केही पर्यटकीय स्थललाई व्यावसायिक बनाउन र ऐतिहासिक क्षेत्रलाई जोगाउन डिपिआर बनाएर काम गर्ने तयार भएको पालिका अध्यक्ष मुक्ति लाबुङ लिम्बूले बताए ।
‘प्राविधिकहरू लगाएर डिपिआर तयार भइरहेको छ । त्यसको लागत कति लाग्छ, सबै रिपोर्ट आएपछि मात्र भन्न सकिन्छ,’ अध्यक्ष लिम्बूले भने । यसका लागि ठूलै रकम आवश्यक पर्ने भएकाले प्रदेश तथा केन्द्र सरकारसँग पनि रकम मागिने उनले बताए ।