१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण २६ शुक्रबार १४:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाका बाढीपहिरोपीडित ४० जनालाई ८० लाख क्षतिपूर्ति

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २६ शुक्रबार १४:०७:००

गत असोज तेस्रो साता आएको बेमौसमी वर्षाले जुम्लामा धेरै धनजनको क्षति भयो । जलवायु परिवर्तनका कारण बेमौसममा अविरल वर्षा हुँदा नागरिकले धेरै क्षति व्यहोर्नुपर्‍याे । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार विपतले ३५ करोडबराबरको क्षति भएको छ । उनले भनिन्, ‘जिल्लाभर ३० करोडबराबर ६ सय पाँचवटा घर पूर्ण रूपमा क्षति भएका छन् । पाँच करोडबराबर १९ सय घर आंशिक रूपमा क्षति भएका छन् ।’ यस्तै १० जना मानवीय क्षति तथा पशुपक्षी र कृषियोग्य जमिनमा पनि क्षति भएको उनले बताइन् । विपतका सबै क्षतिकाे घटनाका विषयमा गृह मन्त्रालयमा प्रतिवेदन पठाइएको उनले जानकारी दिइन् ।

सिँजा गाउँपालिका– २ का सर्प वडको १३ कोठे घर पूर्ण रूपमा क्षति भयो । घर भत्किएपछि उनको परिवार आफन्तको शरणमा छन् । आर्थिक अवस्था कमजोर भएकाले तत्कालै नयाँ घर बनाउने स्थिति भएन । ‘ऋण जोहो गरी निर्माण गरेको घर वर्षाले क्षति गरेको ६ महिना बित्यो । विपतले धनी–गरिब चिन्दो रहेनछ,’ उनले भने । 

सर्प वडको पीडामा शिखर इन्स्योरेन्स कम्पन्नीले मलम लगाउने प्रयास गरेको छ । स्याउ खेतीको बिमा गरेका उनले पछिपछि पाँच सय ८७ रुपैयाँ प्रिमियम शुल्क तिरेर घरको पनि बिमा गरेका थिए । करिब ६ सय रुपैयाँ तिरेर बिमा गरेको घरको तीन लाख ७५ हजार रुपैयाँ पाउँदा उनी दंग थिए । वडलाई इन्स्योरेन्सका कर्मचारीले शुक्रबार गाउँमै पुगेर चेक हस्तान्तरण गरेका थिए ।

त्यस्तै स्याउ बिमा गरेका सिँजा– ६ का विज्ञान बुढाले घर बिमा गर्न सुरुमा मानेका थिएनन् । शिखर इन्स्योरेन्सले वित्तीय साक्षरतासँगै बिमाका फाइदाबारे सिकाएपछि उनले पनि पाँच सय तिरेर घर बिमा गरे । आफ्नो घर कुनै हालतमा नभत्किने उनको बुझाइ गत असोजको वर्षातले गलत साबित गरिदियो । उनको पाँचकोठे घर पूर्ण रूपमा क्षति भयो । बुढाले पनि बिमाबापत तीन लाख ५० हजार राहत पाउँदा खुसी व्यक्त गरे ।

बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका ४० पीडितलाई शिखर इन्स्योरेन्स कम्पनी जुम्लाले ८० लाखभन्दा बढीको बिमा दाबी भुक्तानी गरेको हो । यहाँका आठ पालिकामध्ये चन्दननाथ, पातरासी र गुठीचौर गाउँपालिकाबाहेक पाँच पालिकाका ४० जनाकोे खातामै क्षतिपूर्ति रकम जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

सबैभन्दा धेरै सिँजा गाउँपालिकाका १४ पीडितलाई ४२ लाख पाँच हजार पाँच सयको चेक हस्तान्तरण गरिएको शिखर इन्स्योरेन्स जुम्ला शाखा प्रबन्धक दीपदर्शन फडेराले बताए । उनका अनुसार तातोपानीका पाँचजनालाई ६ लाख ५४ हजार, तिलाका १३ जनालाई १० लाख २७ हजार ६ सय चार रुपैयाँको चेक वितरण गरिएको छ ।

पछिल्लो समय अविरल वर्षाका कारण धेरै धनजनको क्षति हुने गरेको छ । स्थानीय तहले विपत् कोष स्थापना गरे पनि सबैलाई क्षतिपूर्ति दिन सकेको छैन । क्षतिपूर्ति दिए पनि न्यून रकमले विपत् पीडितको समस्या टर्ने देखिँदैन ।