१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाठौं
२o८१ बैशाख २२ शनिबार २o:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सबै वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्दै काठमाडौं महानगर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाठौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:१७:oo

काठमाडौं महानगरपालिकाले आफ्नो सबै वडा कार्यलयमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ। 

सबै उजुरीहरू सम्बन्धित वडा कार्यालयमा नै दर्ता हुने भएकाले वडामै मेलमिलाप केन्द्र सञ्चालन गरी समस्या समाधान गर्न लागिएको महानगरले जनाएको छ।

अहिले वडा नं ३, ४, ८, १०, १४, १५, १६ र २६ बाट सेवा सुरु भइसकेको छ भने केही वडाको आफ्नो कार्यालय भवन नभएकाले भाडाको घर खोज्ने कार्य भइरहेको छ, स्थान प्राप्त भएसँगै सेवा सुरु हुने कामपा सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए। 

उनका अनुसार मेलमिलाप केन्द्र सञ्चालनका लागि छुट्टै स्थान त छैन, वडा कार्यालयमा नै मिलाएर केन्द्र सञ्चालन गर्ने र पछि त्यसलाई थप व्यवस्थापन गर्ने गरी काम थालनी गर्न लागिएको हो। 

भित्री सहरी क्षेत्रमा कार्यालय सञ्चालनका लागि भवन पाउन कठिन भएकाले हाल वडा कार्यालय सञ्चालनमा नै रहेको भवनबाट केन्द्र सञ्चालन गर्न लागिएको कामपाको भनाइ छ। 

व्यावसायिक क्षेत्रमा सरकारी कार्यालयलाई ठाउँ दिँदा भाडा थोरै आउने, त्यही ठाउँलाई व्यवसायीले धेरै भाडा दिने भएपछि ठाउँ पाउन कठिन भएको हो। केन्द्र सञ्चालनका लागि कामपाका उपप्रमुख एवं न्यायिक समितिका संयोजकसमेत रहेकी सुनिता डंगोलसहितको टोलीले ३२ वटै वडा कार्यालयको  स्थलगत अवलोकन गरिसकेका छन्। 

प्राप्त उजुरीलाई मात्र आधार मानेर नभई स्थलगत अवस्था हेरेर वडाकै जनप्रतिनिधिको रोहबरमा तालिमप्राप्त मेलमिलापकर्ताबाट स्थानीय विवाद निरूपण गर्न सबै वडामा केन्द्र स्थापना जरुरी भएको कामपाको भनाइ छ। 

जुन वडामा बहालमा ठाउँ लिन सकिने अवस्था छैन। ती वडामा तत्कालका लागि कार्यालय समय अगाडि–पछाडि बनाएर जनप्रतिनिधि बस्ने कक्ष वा अन्य उपयुक्त कक्षमा मेलमिलाप कक्ष चलाउन सकिने अवलोकनपछि निष्कर्ष निकालिएको छ।

मेलमिलाप केन्द्र एकान्त वार्ताका लागि गोपनीयता कायम हुने, शान्त र सुरक्षित ठाउँ हुनुपर्छ। पर्याप्त प्रकाश, उपयुक्त तापक्रम, हावा छिर्ने कक्षमा मेलमिलापकर्ताको फोटो र योग्यतासहितको सूची, कम्प्युटर, प्रिन्टर, टेबल, कुर्सी, कापी, कलमलगायतको व्यवस्था रहनुपर्छ। साथै, कक्षमा पिउने पानी र शौचालयको सुविधा हुनुपर्छ।

आवश्यकताका आधारमा मेलमिलाप तीनपटकसम्म बस्न सक्नेछ। यदि तीनपटकभन्दा धेरै सत्र सञ्चालन गर्नुपरे वडामा महिला सञ्जालका संयोजकको लिखित स्वीकृति हुनुपर्नेछ। 

वडामा भएका मेलमिलाप केन्द्रबाट नागरिकलाई राज्यप्रदत्त न्यायिक हक सुनिश्चित हुनेछ। यसबाट कामपाले हेर्न मिल्ने विवादका विषय वडास्तरमा समाधान हुनेछ। यसअघि वडाका धेरै विवाद वडा कार्यलयलाई थाहा नहुने अवस्थासमेत थियो।

ad
ad