मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ फाल्गुण २५ बिहीबार ०७:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजदेखि भैरहवामा पुनः नियमित अन्तर्राष्ट्रिय उडान

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ फाल्गुण २५ बिहीबार ०७:३६:००

खराब मौसमका कारण स्थगित गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)को नियमित अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि पुनः सुरु हुने भएको छ । कुवेतको जजिरा एयरवेजले सातामा तीन दिन कुवेत–भैरहवा उडान करिब साढे दुई महिनापछि पुनः गर्न लागेको हो ।

विमानस्थल उद्घाटनको दिन २ जेठ २०७९ देखि नै नियमित उडान गर्दै आइरहेको जजिराले भैरहवामा बाक्लो हुस्सु लाग्न थालेपछि ६ पुसदेखि सेवा स्थगित गरेको थियो । अब आकाश खुल्न थालेसँगै भैरहवा उडान पुनः सुरु हुने जजिराको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभलले जनाएको छ ।

जजिराको जहाज बिहीबार बिहान ७ः२० बजे भैरहवा अवतरण गर्नेछ भने ८ः०५ बजे भैरहवाबाट कुवेतका लागि उड्ने गौतमबुद्ध विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । जजिराले भैरहवामा मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने उनको भनाइ छ । 

भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि यात्रु भने अपेक्षित छैनन् । बिहीबार जजिराको जहाज कुवेतबाट ४० जना यात्रु बोकेर भैरहवा आउनेछ भने एक सय ३० यात्रु बोकेर कुवेत फर्किनेछ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नलाई काठमाडौंबाट यात्रु लैजानुपर्ने बाध्यता रहेको सोसाइटी ट्राभलले जनाएको छ । 

‘भर्खर उडान सुरु गरेर पनि होला, पहिलो दिन अपेक्षित यात्रु छैनन्,’ जजिराका प्रतिनिधिले भने, ‘बिस्तारै यात्रु बढ्दै जाने विश्वासमा छौँ ।’ ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा शुल्क र ग्राउन्ड ह्यान्डलिङ सेवामा छुट दिँदा पनि वायुसेवा भैरहवाबाट उडान गर्न तयार छैनन् । काठमाडौंको तुलनामा भैरहवाबाट कुवेत उड्दा कम्तीमा प्रतियात्रु आठ हजार रुपैयाँ सस्तो पर्ने सोसाइटी ट्राभलले जनाएको छ । ल्यान्डिङ र पार्किङ शुल्क नलाग्ने हुँदा फाट्टफुट्ट चार्टर्ड उडान भने भइरहेको प्रवक्ता झाले बताए ।

३१ अर्बभन्दा बढी लगानी गरेर निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म जजिराले मात्रै नियमित उडान गरिरहेको छ । यसबीचमा चार्टर्ड उडान गरेको हिमालय एयरलाइन्सले हिउँदपछि पुनः उडान सुरु गर्न सुरसार नै नगरेको विमानस्थलका प्रवक्ता झाले बताए । तत्काललाई कुनै पनि वायुसेवाले भैरहवा अन्तर्राष्ट्रिय उडान गर्ने जानकारीमा नआएको उनको भनाइ छ । 

 पोखरामा नियमित रात्रि उडान सुरु
हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा अन्तर्राष्ट्रिय उडानको अत्तोपत्तो नभएपनि रात्रिकालीन आन्तरिक उडान भने सुरु भएको छ । बुद्ध एयरले बिहीबारदेखि पोखरामा रात्रि उडान र रात्रि बिसान सुरु गर्न लागेको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले बताए । 

नयाँ विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) उपकरण सञ्चालनमा आएपछि पोखरामा रात्रि उडान सम्भव भएको हो । अहिले भिज्युअर फ्लाइट रुल (भिएफआर) प्रणालीमा बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै पोखरामा उडान हुने गथ्र्यो ।

रात्रि उडान सुरु भएपछि पोखरा आवतजावत गर्ने हवाई यात्रुलाई थप सहज हुने विश्वास गरिएको छ ।बिहीबारदेखि नै चारवटा जहाज रात्रि बिसानका लागि पोखरा लैजाने बुद्धका प्रवक्ता कर्णले जानकारी दिए । पोखरालाई हब बनाएर विभिन्न सहरमा प्रादेशिक उडान गरिरहेको बुद्धले नेपालगन्ज, भैरहवा, काठमाडौं र झापाबाट एक–एक जहाज साँझमा पोखरा रात्रि बिसानका लागि लौजनो छ ।

ती जहाजले बिहान काठमाडौंसहित विभिन्न सहरमा पहिलो उडान गर्नेछन् । बुद्धले पोखराबाट विराटनगर पनि उडान गर्ने तयारी गरिरहेको छ । हवाई यात्रुको अवस्था हेरेर अन्य  वायुसेवा कम्पनीले पनि पोखरामा रात्रि उडान गर्ने तयारी गरेका छन् ।