१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २५ बिहीबार ०६:०६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपति निर्वाचन : आजै मतदान र परिणाम, सोमबार शपथ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २५ बिहीबार ०६:०६:००

पौडेल र नेम्वाङ प्रतिस्पर्धामा

- बिहान १०–३ बजेसम्म मतदान, साँझ  बजेभित्र परिणाम
- राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने, रास्वपा आज निर्णय गर्दै
- राष्ट्रपति संस्था निष्पक्ष हुने सम्भावना कम देखेपछि तटस्थ बस्यौँ : लिङ्देन

देशको तेस्रो राष्ट्रपति चुन्न बिहीबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १०–३ बजेसम्म मतदान हुँदै छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने गणनाको परिणाम ढिलोमा साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ । 

मतदानका लागि ल्होत्से हलमा दायाँतर्फ संघीय संसद् र बायाँतर्फ प्रदेश सभाका लागि मतदान केन्द्र व्यवस्थापन छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार तीन सय ३२ मतदाता रहेको संघीय संसद्को मतदान केन्द्रमा एउटा मतपेटिका राखिएको छ । पाँच सय ५० मतदाता रहेको प्रदेश सभातर्फ दुईवटा मतपेटिका राखिएको छ । निर्वाचनमा संघीय सांसदको एक मतबराबर ७९ र प्रदेश सभा सदस्यको एक मतबराबर ४८ मतभार कायम गरिएको छ । मतदान केन्द्रमा १४ जना कर्मचारी खटाइएको छ । 

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । निर्वाचन अधिकृत पौडेलका अनुसार उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । ५० प्रतिशत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । 

मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । मतदान स्थलमा प्रज्वलनशील पदार्थ, हातहतियार, मोबाइल र क्यामेरा निषेध गरिएको छ । मतदानका लागि महिला र पुरुषको छुट्टै लाइनको व्यवस्था गरिएको छ । 

सम्पूर्ण तयारी पूरा भएको मतदानस्थलको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र उम्मेदवारका प्रतिनिधिद्वय रमेश लेखक र महेश बर्तौलाले निरीक्षणसमेत गरेका छन् । 

निर्वाचन अधिकृत पौडेलले निर्धारित समय ३ बजेभन्दा पछि छुटेका मतदातालाई मतदानमा सहभागी नगराइने बताए । ‘मतदान सकिएपछि मुचुल्का गरेर मतपेटिकालाई गणनास्थलमा लान्छौँ । ४ बजेदेखि गणना थाल्छौँ,’ उनले भने । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले साँझ ६ भित्रै परिणाम निकाल्ने गरी आवश्यक निर्देशन दिएको बताए । निर्वाचित हुने उम्मेदवारलाई आयोगले नै प्रमाणपत्र दिनुपर्ने कानुनी व्यवस्था रहेकाले परिणाम घोषणापछि साँझ नै प्रमाणपत्र प्रदान गरिने उनको भनाइ छ । ‘७ बजेसम्ममा आयोगमा प्रतिवेदन पठाउन भनिएको छ । प्रतिवेदन प्राप्त हुनासाथ बेलुका नै नवनिर्वाचित राष्ट्रपतिलाई आयोगले प्रमाणपत्र बुझाउने तयारी गरेको छ,’ उनले भने । 

प्रमुख आयुक्त थपलियाले निर्वाचनको प्रतिवेदन बुझाउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग समय लिइसकिएको जानकारी दिए । ‘२६ गते ३ बजे प्रतिवेदन बुझाउने भनेर समय लिइसकेका छौँ । प्रतिवेदन बुझाएपछि शपथग्रहणको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘हामीसँग सल्लाह भएअनुसार २९ गते सोमबार नयाँ राष्ट्रपतिको शपथग्रहण र निवर्तमान राष्ट्रपतिको बिदाइ हुन्छ ।’ वर्तमान राष्ट्रपति भण्डारीको पाँचवर्षे कार्यकाल २८ फागुनको राति १२ बजेदेखि सकिँदै छ । 

सुरक्षा व्यवस्था कडा
राष्ट्रपति निर्वाचनका लागि स्थानीय प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट करिब नौ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसका अलावा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । काठमाडौं प्रमुख एसएसपी दानबहादुर कार्कीले मतदानदेखि मतगणनासम्म सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको बताए । 

‘मतदानअगाडि सबै मतदाताको सहजीकरण गर्ने, उहाँहरूको बसोवासको क्षेत्रको सुरक्षा मिलाउने, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको सुरक्षा, लाइनको व्यवस्थापन, कुनै पनि प्रज्वलनशील पदार्थ तथा मोबाइल र क्यामेरा लान नदिने गरी प्रबन्ध गरेका छौँ,’ उनले भने ।

एसएसपी कार्कीले प्रहरीको फरार सूचीमा रहेका मतदातालाई निगरानी गरिने बताए । कर्तव्य ज्यान मुद्दामा एमाले सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सन्दर्भमा प्रहरीले निगरानी गर्ने भएको हो । ‘त्यहाँ फरार सूचीमा रहेका मतदातालाई निगरानी गरिनेछ । त्यस्ता व्यक्तिलाई जो जहाँ भेटिन्छ त्यहीँबाट पक्राउ गरेर कानुनी दायरामा ल्याइनेछ,’ एसएसपी कार्कीले भने । 

मतदानपछि मतपेटिका सुरक्षा, मतपेटिका ओसारपसारको वेलाको सुरक्षा, मतगणना हुने स्थलको सुरक्षा मिलाइएको उनले बताए । ‘मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको दुइटा प्रतिनिधि बस्न दिइने छैन । मतगणनामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको छ । आवश्यक जनशक्ति खटाइएको छ । काठमाडौं जिल्लाबाट सिनियर पुलिस अधिकृतको कमान्डमा लाइन व्यवस्थापनदेखि लिएर चारैतिरको प्रवेशद्वारहरूको सुरक्षासमेत मिलाइएको छ,’ उनले भने । 

कार्कीका अनुसार मतदानमा बाधा–अवरोध हुन नदिन बानेश्वरको बिआइसिसी प्रवेश गर्ने क्षेत्रमा आवश्यक संख्यामा सिनियर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । मतदातालाई भित्र प्रवेश गराउने, लाइन व्यवस्थापन र बाहिर ल्याउने कुरामा प्रहरीले सहजीकरण गर्ने उनले बताए । ‘निर्वाचनबाट जितेर प्रमाणपत्र प्राप्त गर्नुहुने उम्मेदवारलाई तत्क्षणदेखि नै पदअनुसारको सुरक्षा व्यवस्था मिलाइनेछ,’ उनले भने ।

दिनेश थपलिया, प्रमुख निर्वाचन आयुक्त
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १०–३ बजेसम्म मतदान हुँदै छ । साँझ ६ भित्रै परिणाम निकाल्ने गरी आवश्यक निर्देशन दिएका छौँ । निर्वाचित हुने उम्मेदवारलाई आयोगले नै प्रमाणपत्र दिनुपर्ने कानुनी व्यवस्था रहेकाले परिणाम घोषणापछि साँझ नै प्रमाणपत्र प्रदान गरिनेछ ।

राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन शुक्रबार ३ बजेको समय लिइसकेका छौँ । प्रतिवेदन बुझाएपछि शपथग्रहणको प्रक्रिया अगाडि बढ्छ । हामीसँग सल्लाह भएअनुसार सोमबार नयाँ राष्ट्रपतिको शपथग्रहण र निवर्तमान राष्ट्रपतिको बिदाइ हुन्छ ।